×

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका एमबिबिएस चौथो वर्षका विद्यार्थी सन्नी वैश्यले विश्वभर चिकित्सा शिक्षामा अध्ययन गरिने चर्चित पाठ्यपुस्तक Diseases of Ear, Nose and Throat and Head and Neck Surgery मा समेटिएको विषयवस्तुको स्पष्टताका लागि वैज्ञानिक सुझाव दिँदै अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् ।

कान, नाक, घाँटी तथा टाउको–घाँटी शल्य चिकित्सा सम्बन्धी उक्त पुस्तक अध्ययन गर्ने क्रममा वैश्यले ‘स्ट्राइडर’ सम्बन्धी अध्यायमा ‘रेट्रोफ्यारिन्जियल एब्सेस’लाई घाँटीभित्रका कारणअन्तर्गत समावेश गरिएको विषयमा वैज्ञानिक तथा शरीर रचनात्मक दृष्टिकोणबाट थप स्पष्टता आवश्यक रहेको औँल्याएका थिए ।

उनका अनुसार ‘रेट्रोफ्यारिन्जियल एब्सेस’ घाँटीको पछाडिपट्टिको विशेष स्थान (रेट्रोफ्यारिन्जियल स्पेस) मा विकसित हुने अवस्था हो । त्यसैले यो प्राविधिक रूपमा घाँटीभित्रको रोग नभई बाह्य दबाबका कारण श्वासमार्ग साँघुरो भई ‘स्ट्राइडर’ उत्पन्न गराउने अवस्था हो भन्ने तर्क उनले प्रस्तुत गरेका थिए ।

वैश्यले आफ्नो वैज्ञानिक तर्कसहितको सुझाव पुस्तकका प्रख्यात लेखक डा. पी. एल. ढिङ्ग्रासमक्ष औपचारिक रूपमा पठाएका थिए । त्यसको जवाफमा डा. ढिङ्ग्राले ‘रेट्रोफ्यारिन्जियल एब्सेस’ स्वरयन्त्रभन्दा बाहिर रहने अवस्था भएको स्वीकार गर्दै घाँटीमा हुने सुन्निने अवस्था तथा बाह्य दबाबका कारण ‘स्ट्राइडर’ उत्पन्न हुन सक्ने भएकाले उक्त अवस्थालाई सम्बन्धित अध्यायमा समावेश गरिएको स्पष्ट पारेका छन् ।

साथै, शरीर रचनात्मक दृष्टिले विषयलाई अझ स्पष्ट पार्न आगामी संस्करण वा पुनर्मुद्रणमा आवश्यक सुधार गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले विद्यार्थी वैश्यको वैज्ञानिक सुझावप्रति धन्यवादसमेत दिएका छन् ।

विश्व प्रसिद्ध चिकित्सा पाठ्यपुस्तकका लेखकबाट सुझावको औपचारिक स्वीकारोक्ति तथा आगामी संस्करणमा सुधार गर्ने प्रतिबद्धता प्राप्त हुनु नेशनल मेडिकल कलेजका विद्यार्थीहरूको शैक्षिक उत्कृष्टता, अनुसन्धानमुखी सोच र आलोचनात्मक विश्लेषण क्षमताको महत्त्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ ।

कलेज प्रशासनले विद्यार्थीहरूमा अनुसन्धानमूलक अध्ययन, वैज्ञानिक प्रमाणमा आधारित शिक्षा तथा आलोचनात्मक सोचको विकासलाई निरन्तर प्रोत्साहन गर्दै गुणस्तरीय चिकित्सा शिक्षाप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।

“ज्ञान, अनुसन्धान र उत्कृष्टताको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन” भन्ने लक्ष्यसहित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले चिकित्सा शिक्षा तथा अनुसन्धान क्षेत्रमा आफ्नो योगदानलाई निरन्तर विस्तार गरिरहेको जनाएको छ ।

Back to top