×

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले नगरपालिकाको कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेरा तोडफोड गर्ने वडाध्यक्षलाई कारबाहीको माग गरेका छन् ।

कात्तिक २२ गते नगर कार्यपालिकाको बैठक बस्नु अघि वडा नम्बर ६ का वडाध्यक्ष नवलकिशोर प्रसाद कलवारले सिसिटिभी क्यामेरा तोडफोड गरेका भन्दै उनलाई कारबाही गर्न मेयर पाठकले माग गरेका हुन् ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर मेयर पाठकले घटनाप्रति खेद प्रकट गर्दै नगरपालिकाको सभा हलका तीन थान सिसिटिभी क्यामेरा तोडफोड गर्ने वडाध्यक्ष कलवारलाई कानुन अनुसार कारबाही गर्न माग गरे ।

मेयर पाठकले बुधवार बिहान ८ बजे बोलाइएको कार्यपालिकाको बैठक डेढ घण्टा ढिलो सञ्चालन भएको र नगरपालिकाको सभा हलमा रहेका तीन थान सिसिटिभी क्यामेरा तोडफोड गरिएको कुरा कार्यपालिका सदस्यहरूबाट दिउँसो २ बजे मात्र थाहा पाएको बताए ।

उनले वडाध्यक्ष कलवारले सिसिटिभी क्यामेरा तोडफोड गरेको फुटेज रेकर्डबाट देखिएको दाबी गर्दै उनीमाथि मुलुकी अपराध संहिता अनुसार कारबाहीको लागि प्रहरी र प्रशासनमा लेखी पठाउने निर्णय भएको समेत जानकारी दिए ।

पत्रकार सम्मेलनमा मेयर पाठकले सिसिटिभी क्यामेरा तोडफोड गर्नुको उद्देश्य बैठकमा अमर्यादित गतिविधि गर्नु रहेको बताए । आरोपित कलवार स्वतन्त्रबाट वडाध्यक्षमा विजयी भएका हुन् ।

पत्रकार सम्मेलनमा उपमेयर पूजा चौधरी, वडाध्यक्षद्वय राज कपूर खवास र वीरेन्द्र महतो, कार्यपालिका सदस्यहरू सीतादेवी लामा, सविता गिरी, मोहनलाल महतो, दिलबहादुर भुजेल लगायत सहभागी थिए ।

Back to top