×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । पर्साको जीराभवानी गाउँपालिकामा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर अन्य तिन जना घाइते पनि भएका छन् ।

जीराभवानी गाउँपालिका – ४  परसवा टोलमा शुक्रवार राती भएको दुर्घटनामा जगरनाथपुर गाउँपालिका – १ का प्रदीप महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रदीपको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।

त्यस्तै घाइते हुनेमा प्रेम ठाकुर, भट्टराई महतो नुनिया र पहिचान नखुलेको एक जना रहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

डिएसपी थापाका अनुसार पिडारीगुठीबाट सेढवातर्फ आइरहेको बिआर २२ एबी १५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पोलमा ठोक्किँदा दुर्घटना भएको थियो ।

घाइते हुनेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको डिएसपी थापाले बताए । उनीहरूको उपचार बारा जिल्लाको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा भइरहेको छ । अन्य एक जना सामान्य घाइते रहेकोले उनी घर फर्किएका छन् ।

Back to top