पैतला कहिलेकाँही चिलाउने सामान्य हो । तर, कतिपयलाई पैतला धेरै नै चिलाएर समस्या हुन्छ ।
यसको पछाडि इन्फेक्शन वा एलर्जी प्रमुख कारण हो । तर, कसैलाई त्यति मात्र नभएर अन्य शारीरिक समस्या पनि हुन सक्छ ।
केके समस्या हुँदा पैतला चिलाउन सक्छ जानौं ।
कलेजोको समस्या
पैतला चिलाउनुको पछाडि कलेजोसम्बन्धी केही समस्याले पनि हुन सक्छ । जब हाम्रो कलेजोले सही तरिकाले काम गर्दैन, त्यसपछि रगतमा बिलीरुबिन बढ्न थाल्छ ।
शरीरमा बिलीरुबिनको मात्रा अत्यधिक हुँदा छाला पहेंलो तथा चिलाउने समस्या हुन्छ । यदि पैतला चिलाउनुका साथै छाला पहेंलो देखिएको छ भने तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुहोस् ।
सोरायसिस
लामो समयसम्म खुट्टाको पैतला चिलाउने समस्या भइरहेको छ भने यो सोरायसिसको कारण पनि हुन सक्छ ।
यो एउटा अटोइम्यून रोग हो, जसले छालाका कोशिकालाई प्रभावित गर्दछ । सोरायसिसको समस्यामा खुट्टा चिलाउने, र्यासेज जस्तो समस्या आउन सक्छ । यस्तो भएमा पनि डाक्टरसँग सम्पर्क गर्नुपर्दछ ।
एक्जिमा
एक्जिमाको कारणले पनि खुट्टाको पैतला चिलाउन सक्छ । एक्जिमाले शरीरको कुनै पनि हिस्सालाई प्रभावित पार्न सक्छ । जसले गर्दा पैतलामा राता तथा चिलाउने दाना आउँछन् ।
यसबाट बच्नका लागि छालालाई हाइड्रेट राख्नुहोस् र डाक्टरको सल्लाह लिएर औषधि सेवन गर्नुहोस् ।
कन्ट्याक्ट डर्मेटाइटिस
पैतला चिलाउँदा कन्ट्याक्ट डर्मेटाइटिस पनि हुन सक्छ । यो रोगमा पैतला चिलाउने तथा दाना आउने हुन्छ । जसले गर्दा खुट्टा सुन्निने तथा पोल्ने पनि हुन सक्छ ।
प्रायः रबर तथा छालाको जुत्ता लगाएपछि पनि कन्ट्याक्ट डर्मेटाइटिसको समस्या हुन सक्छ । तपाईंलाई पनि यस्तो लक्षण देखिएको छ भने छाला रोग विशेषज्ञसँग जाँच गराउनुहोस् ।
मिर्गौलाको समस्या
पैतला चिलाउने समस्या मिर्गौला रोगको लक्षण पनि हुन सक्छ । जब मिर्गौलाले सही तरिकाले काम गर्दैन, तब रगत फिल्टर हुन पाउँदैन ।
यही कारणले शरीरमा यूरियाको मात्रा बढ्न थाल्छ । हातका पञ्जा तथा पैतलामा एकदमै धेरै चिलाउने समस्या भइरहेको छ भने यसलाई बेवास्ता नगर्नुहोस् । डाक्टरसँग अवश्य सल्लाह लिनुहोस् ।