वीरगञ्ज । कोभिड-१९ र यसको नयाँ भेरियन्ट ‘जेएन.१’ तथा इन्फ्लुएन्जाको सङ्क्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ ।
दक्षिण पूर्वी एसियाली देशहरूमा यसको सङ्क्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरू बढिरहेको भन्दै डब्लूएचओले त्यस्तो सङ्क्रमणबारे सजग रहन र सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको हो ।
डब्लूएचओले भनेको छ, ‘कोभिडको नयाँ भेरियन्ट फैलिँदो छ, सतर्कता अपनाउनू ।’ कोभिड-१९ भाइरस विश्वव्यापी रूपमा फैलिइरहेको छ । अध्ययन अनुसार यसको नयाँ भेरियन्टको ‘जेएन.१’ बाट जोखिम कम हुने आकलन छ । तर सङ्क्रमणबाट बच्नका लागि नियमित निगरानी र सतर्कता अपनाउन आवश्यक रहेको डब्लूएचओका दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले बताएका छन् ।
उनका अनुसार डब्लुएचओले प्राप्त गरेको तथ्याङ्कमा ‘जेएन.१’ फैलिने दर उच्च छ, र विश्वव्यापी बढ्दो दरमा छ । विशेष गरी यति बेला जाडो मौसम हुने देशहरूमा अन्य भाइरल र ब्याक्टेरियाको सङ्क्रमणका हुने र त्यहीबिचमा कोभिड-१९ ले पनि सङ्क्रमण गर्न सक्ने डब्लूएचओको अनुमान छ । ‘चिसोका कारण विभिन्न समस्याहरू देखिन सक्छन् । त्यस कारण सामान्य अस्वस्थता हुने बित्तिकै चिकित्सकको सल्लाह लिइहाल्न उपयुक्त हुन्छ,’ डा. क्षेत्रपाल सिंहले भने ।
कोभिडको नयाँ भेरियन्ट ‘जेएन.१’ भारतमा पुष्टि भइसकेको छ । तर नेपालमा भने अहिलेसम्म यसको सङ्क्रमण पुष्टि भइसकेको छैन । यद्यपि कोभिड-१९ को सङ्क्रमणका केसहरू भने छिटपुट देखिरहेका छन् । डब्लूएचओले जोखिममा रहेका व्यक्तिहरूले कोभिड-१९ र इन्फ्लुएन्जा विरुद्धको खोप लगाउनु उपयुक्त हुने जनाएको छ ।