वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका - १ औराहामा शनिवार अपराह्न बाघको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन् ।
स्थानीय ३६ वर्षीय भीमबली महतो थारु बाघको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।
उनको हाल वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।
महतोलाई आक्रमण गर्ने बाघलाई स्थानीयले कुटेर मारिदिएको खबर पनि आएको डिएसपी थापाले बताए ।
थापाका अनुसार शनिवार अपराह्न ५ बजेतिर महतो घर नजिकैको मकैवारिमा गएका बेला बाघको आक्रमण गरेको थियो ।
मकैवारि नजिकै रहेको खोल्सामा पुगेका महतोलाई बाघले आक्रमण गर्दै घिसारेर लैजान थालेपछि नजिककै रहेका अरू मानिसले होहल्ला गरेपछि बाघले महतोलाई छाडेको स्थानीयलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीले बताए ।
महतोलाई आक्रमण गरेको बाघलाई उनका गाउँका मानिसहरूले घेरा हालेर बञ्चरो, भाला र लट्ठीले हानेर मारिदिएको प्रहरीले जनाएको छ ।
स्थानीयको आक्रमणबाट मरेको बाघ अहिले घटनास्थलमै छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा खबर गरिएको प्रहरी निरीक्षक केशरीले बताए ।