वीरगञ्ज । पर्सागढी नगरपालिकामा काठ तस्करी र वन क्षेत्रको जग्गा अतिक्रमण बढ्दो अवस्थामा रहेको छ भने सरोकारवाला निकायहरू यस विषयमा मौन रहेका छन्। बिहान र राति काठ तस्करहरू जंगलमा प्रवेश गरी रूख काटेर काठ र दाउरा तस्करी गर्दै आइरहेका छन्।
पर्सागढी नपा–४ स्थित सबडिभिजन वन कार्यालय सबैया र वडा नं ३ स्थित सबडिभिजन वन कार्यालय मधुवन मथवल, बडनिहार, विन्ध्यवासिनी कोइलाभार साझेदारी वन बडनिहार भएपनि यी कार्यालयहरू यस्तो कार्य रोकथाम गर्न सक्रिय नभएको स्थानीयहरूले आरोप लगाएका छन्।
स्थानीयवासीहरूका अनुसार, अतिक्रमणकारीहरूले वन क्षेत्रको जग्गा अतिक्रमण गरी घरटहरा बनाउनुका साथै खेतीपाती गरिरहेका छन्। तर वन कार्यालय र साझेदारी वनका पदाधिकारीहरू तस्करी र अतिक्रमण हेरेर चुप लागेर बसेका छन्।
यस विषयमा डिभिजन वन कार्यालय, पर्साका प्रमुख सुनीलकुमार कर्णले भने, "वनको जग्गा यकीन गर्नको लागि नापी कार्यालयलाई पत्राचार गरेको र नापी कार्यालयले नापजोख गरेपछि अतिक्रमित क्षेत्र खाली गराउने योजना छ।" उनले काठ तस्करी र वनजङ्गल जोगाउन प्रयास गरिरहेको जानकारी दिए।
वन क्षेत्रको संरक्षण र काठ तस्करीको रोकथामका लागि सरोकारवाला निकायहरूलाई तत्काल सक्रिय भएर कार्य गर्नु आवश्यक रहेको स्थानीयवासीहरूको माग छ।