वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा पुराना कर्मचारीहरूलाई हटाएर नयाँ भर्ना गर्ने खडयंत्रको बिरूद्धमा आन्दोलन सुरू भएको छ। पालिका अन्तर्गतको स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरूले पालिकाको मुख्य गेटमा शान्तिपूर्ण धर्ना दिइरहेका छन्।
धर्नामा बसेका कर्मचारीहरू बिगत ९ वर्षदेखि पालिका अन्तर्गत स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रूपमा कार्यरत छन्। उनीहरूले जनाएका छन् कि पालिका अध्यक्ष बशिष्ठ कलवारले आफ्नो नजिकका व्यक्तिहरूलाई बहाल गर्ने नियतले पुराना कर्मचारीहरूको म्याद नथपेको कारण उनीहरू बाध्य भएर आन्दोलनमा उत्रिएका हुन्।
सुरूमा तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयबाट करिब ९ वर्ष अगाडि स्वास्थ्य चौकीको कार्यालय सहयोगीमा नियुक्ती पाएका यी कर्मचारीहरूलाई पालिका स्थापनापछि निरंतरता दिइएको थियो। आयोगबाट दरबन्दी कायम नभएसम्म निरंतरता दिने पालिकाको तत्कालीन बोर्डको निर्णय अनुरूप यी कर्मचारीहरूले निरंतरता पाएका थिए। तर अहिले पालिका अध्यक्षले कर्मचारी भर्ना गरेर रकम उगाही गर्ने र आफ्ना कार्यकर्ता भर्ना गर्ने उद्देश्यले पुराना कर्मचारी हटाउने सडयंत्रमा जुटेका छन्।
यस क्रममा वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसियाले पुराना कर्मचारी हटाएर नयाँ राख्ने सोचले समस्या निम्त्याएको बताए। पुराना कर्मचारीहरूले कार्य सम्पादन मूल्यांकनमा उच्च अंक पाएका भएता पनि पालिका अध्यक्ष र प्रशासकीय अधिकृत अमित गिरीले म्याद नथपेर पालिकालाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएका छन्। प्रशासकीय अधिकृत गिरीले भने यस सन्दर्भमा केही बोल्न चाहेनन्।