वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ चैनपुरस्थित एक विद्यालयका दुई सय जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको छ । विगा यादव हिरमतिया देवी आधारभूत विद्यालयका दुई सय जना दलित, जेहेन्दार एवम् सीमान्तकृत समुदायका विद्यार्थीलाई छात्रवृत्तीस्वरुप शैक्षिक सामग्री वितरण गरिएको हो ।
चाईल्ड सपोर्ट अर्गनाइजेशन जापानको सहयोग र गणेश उज्जैन (भुवन) स्मृति प्रतिष्ठान लाजिम्पाट काठमाण्डौको सहकार्यमा विद्यार्थीहरुलाई कपी, कलम, पेन्सिल, ईरेजर लगायतका शैक्षिक सामग्रीसँगै फलफूल पनि वितरण गरिएको प्रतिष्ठानका संयोजक गणेश लामाले जानकारी दिए । उनकाअनुसार प्रतिष्ठानले विभिन्न संघ संस्थासँगको सहकार्यमा सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्दै आएको छ ।
जापानबाट आएका चाईल्ड सपोर्ट अर्गनाइजेशनका पदाधिकारीहरुले बालविकास देखि कक्षा ५ सम्मका कक्षा कोठामा प्राविधिक रुपमा शैक्षिक क्रियाकलाप बारेमा सचेतना जगाएका थिए । चित्रकला, हस्तकला, खेलकुद लगायतका अतिरिक्त क्रियाकलापसँगै बाल मैत्रीपूर्ण वातावरण र प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने जापनीज संस्थाका पर्सा जिल्ला संयोजक हरि प्रसाद यादवले बताए ।
आगामी दिनमा पनि शैक्षिक विकासका निमित्त आवश्यक पर्ने अन्य सहयोगका लागि संस्था तयार रहेको पनि उनले बताए ।