×

वीरगञ्ज । नारायणी सिँचाई डिभिजन नम्बर ५ को ब्लक नम्बर २ र बिएससी ४ र ५ मा अनावश्यक रूपमा नहरमा पानी छोडिँदा कृषकहरू मर्कामा परेका छन् । 

हालको समयमा धानको खेतीका लागि पानीको आवश्यकता नरहेको अवस्थामा नहरमा छोडिएको पानीले नगदे बाली लगाउन समस्या भएको स्थानीय कृषकहरूले बताएका छन् ।

कालिकामाई गाउँपालिका वडा नम्बर २ का मोतीलाल चौरसियाका अनुसार, "अहिले नगदे बाली जस्तै मसुरो, तोरी, तिसी, आलु, प्याज, र गहुँ लगाउने समय हो, तर नहरमा पानी आएर खेतमा जम्दा यी बाली छर्न कठिनाइ भएको छ । उनका अनुसार धानको खेतीलाई पर्याप्त पानी प्राप्त भइसकेको छ र अहिलेको अवस्थाले नगदे बाली ढिलो लगाइने सम्भावना छ ।

साथै, सोही वडाका हजारी साहले भने, "नहर वरपरका खेतहरू सुक्न नसकेका कारण नगदे बाली लगाउन बाधा पुगेको छ । पानीको आवश्यकता नै नभएको समयमा नहरमा पानी छोड्नु सम्बन्धित निकायको लापरबाही हो।" उनले नहरमा अनावश्यक रूपमा पानी छोडिन बन्द गरिनुपर्ने माग समेत गरेका छन् ।

कृषकहरूले हाल धानका खेतमा पानी भरिएको अवस्था छ भने नहरमा पानीको बहावले खेतमा थप पानी जम्न पुगेर नगदे बालीहरू प्रभावित भएका छन् । यस अवस्थाले कृषकहरूलाई आर्थिक रूपमा घाटा हुने सम्भावना रहेको उनीहरूको गुनासो छ ।

Back to top