फाईल फोटो
वीरगञ्ज । केही समययता रोकिएको गाँजा खेती नष्ट गर्ने अभियान पर्सा प्रहरीले फेरि सुरु गरेको छ। जिल्लामा लुकीछिपी अवैध रूपमा भइरहेको गाँजा खेतीलाई नष्ट गर्न प्रहरीको अभियान झन्डै ८ महिना रोकिएको थियो। तर, बुधवारदेखि प्रहरीले पुनः अभियान थालेको हो।
पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २, थरघाटी टोलमा रहेको करिब २० कट्ठा क्षेत्रफलमा लगाइएका ८ हजार गाँजाका बिरुवा प्रहरीले बुधवार नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढा थापाको नेतृत्वमा खटिएको टोलीले गाँजाका बोटहरू काटेर जलाइदिएको हो।
प्रहरीले गाँजा खेती गर्ने व्यक्तिको पहिचान गर्ने कार्य भइरहेको जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, जग्गाधनीसहित संलग्नहरूमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइनेछ।
त्यस्तै, पर्सागढी नगरपालिका वडा नम्बर २ स्थित सिंग्याही नदीको बगरछेउमा करिब डेढ कट्ठा क्षेत्रमा लगाइएको गाँजा खेती पनि प्रहरीले फडानी गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले करिब ८ सय गाँजाका बिरुवा नष्ट गरिएको बताए।
प्रहरीले जिल्लाका बासिन्दाहरूलाई गाँजाको खेतीबारे जानकारी भएमा तुरुन्त प्रहरीलाई सूचना दिन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जिल्लावासीलाई अवैध खेती विरुद्ध सहयोग गर्न अपिल गरेका छन्।