वीरगञ्ज । बहुदरमाई नगरपालिकाको ११औँ नगर सभाबाट आर्थिक वर्ष २०८१/०८२ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले “बहुदरमाई बासीको रहर: स्वच्छ, सुन्दर, सुरक्षित, समृद्ध नगर” भन्ने दीर्घकालीन लक्ष्यसहित बजेट र योजना अघि सारेको हो ।
नगरपालिकाकी उपमेयर सुषमा कुशवाहले प्रस्तुत गरेको बजेटमा ४९ करोड ९३ लाख ३३ हजार रुपैयाँको कुल बजेट घोषणा गरिएको छ । यस बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धन र उद्यमशीलता विकासलाई प्राथमिकतामा राखिएको छ ।
सङ्घीय र प्रदेश सरकारका विभिन्न अनुदान तथा आन्तरिक स्रोतहरू बजेटको मुख्य श्रोत हुन् । सङ्घीय सरकारको समानिकरण अनुदान १२ करोड २९ लाख रुपैयाँ, सशर्त अनुदान १९ करोड २९ लाख ९ हजार रुपैयाँ, विशेष अनुदान १ करोड ५० लाख रुपैयाँ तथा सङ्घीय राजस्व बाँडफाँटबाट ९ करोड ७१ लाख रुपैयाँ समावेश गरिएको छ ।
त्यस्तै प्रदेश सरकारबाट समानिकरण अनुदान ८९ लाख ४ हजार रुपैयाँ, सशर्त अनुदान ९५ लाख रुपैयाँ, विशेष अनुदान ३० लाख रुपैयाँ, समपूरक अनुदान २० लाख रुपैयाँ र राजस्व बाँडफाँटबाट ३० लाख ४० हजार रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ ।
यसका साथै आन्तरिक स्रोतबाट ३ करोड ५४ लाख ६० हजार रुपैयाँ, जिल्ला समन्वय समिति तथा अन्य निकायबाट मौज्दात ४९ लाख ८४ हजार रुपैयाँ, स्थानीय शासन तथा सामुदायिक विकासको ५० लाख रुपैयाँ र सडक बोर्डको सशर्त अनुदान ४० लाख रुपैयाँ समेत गरी कुल बजेट सार्वजनिक गरिएको हो।
बहुदरमाई नगरपालिकाको आगामी योजनाहरूमा विभिन्न क्षेत्रहरूको विकासलाई प्राथमिकतामा राखिएको छ । विशेष गरी विद्यालयहरूको भौतिक र शैक्षिक सुधार, छात्रवृत्ति कार्यक्रम र साक्षरतामा सुधारका लागि कार्यक्रमहरू सञ्चालन गरिने योजनालाई प्राथमिकता दिइएको छ । त्यस्तै स्वास्थ्य सेवाहरूको पहुँच वृद्धि गर्दै सामुदायिक स्वास्थ्य केन्द्रहरूको सुदृढीकरण गरिने बताइएको छ । आधारभूत औषधि आपूर्ति र नियमित स्वास्थ्य परीक्षण कार्यक्रमहरूमा लगानी गर्ने पनि नगरपालिकाको योजना छ।
कृषकहरूको क्षमता विकासका लागि तालिम, अनुदान र आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नेदेखि सिँचाइ सुविधाको विस्तार र कृषि उद्यमको प्रवर्द्धनमा जोड दिइने नगरपालिकाले जनाएको छ ।
बाटो, पुल, खानेपानी योजना, र विद्युत् व्यवस्थापनका क्षेत्रमा ठूला परियोजनाहरू अगाडि सार्ने र स्थानीय सम्पदा स्थल र सांस्कृतिक स्थलहरूको प्रवर्द्धन गरी पर्यटन विकासका लागि रणनीतिक योजना लागू गर्ने योजना पनि नगरपालिकाले बनाएको छ । स्वरोजगारको अवसर सिर्जना गर्दै सीपमूलक तालिम र लघुवित्त कार्यक्रमहरू सञ्चालन गर्ने योजना पनि नगरपालिकाको छ ।
सभामा मेयर सिंहासन साह तेलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुसतुफाले दिएका थिए । नौ वटै वडाका अध्यक्षहरू, वडा सदस्यहरू तथा कार्यपालिका सदस्यहरूको सक्रिय उपस्थिति रहेको कार्यक्रममा बजेट बाँडफाँटको विषयमा केही समय विवाद भए पनि अन्ततः सर्व सहमतिमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
सभामा बोल्दै मेयर सिंहासन साह तेलीले नगरको विकासका लागि सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए । “हामीले स्वच्छ र समृद्ध नगरको परिकल्पना अघि सारेका छौँ । यसलाई सफल बनाउन जनप्रतिनिधि र कर्मचारीबिच समन्वय अत्यावश्यक छ,” उनले भने ।
मेयर साहले अनावश्यक विवाद र उजुरीका कारण विकास निर्माणका कामहरू प्रभावित नहोस् भन्नेमा विशेष ध्यान दिन आग्रह गरे । “विकासका काम अघि बढाउन सुझाव र गुनासा पाउने अधिकार सबैलाई हुनुपर्छ । तर, गलत नियतले गरिने उजुरीले अवरोध सिर्जना गर्न दिनु हुँदैन,” उनले भने ।
लेखापाल उपेन्द्र साह र सह लेखापाल हरि पटेलले बजेटको सफल कार्यान्वयनका लागि आर्थिक अनुशासन कायम राख्नुपर्ने बताए । शिक्षा र स्वास्थ्य शाखाका प्रमुखहरूले पनि सम्बन्धित क्षेत्रमा योजनाहरू प्रभावकारी ढङ्गले लागू गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नगरका कर्मचारीहरू, वडाध्यक्षहरू र अन्य जनप्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति थियो । बहुदरमाई नगरपालिकाले प्रस्तुत गरेको यो नीति, कार्यक्रम र बजेटले नगरलाई स्वच्छ, सुरक्षित र समृद्ध बनाउन दीर्घकालीन योजना अघि सारेको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै नगरपालिकाले स्थानीय विकास र सुशासनलाई प्रोत्साहन गर्ने योजना अघि बढाएको छ । कार्यक्रमले सहमति र समन्वयमा आधारित निर्णयहरू लिँदै नगरका सबै जनप्रतिनिधिलाई साझा जिम्मेवारीमा सक्रिय हुन प्रेरित गरेको छ ।