फाईल फोटो
वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकामा अवैध रूपमा सञ्चालित घरेलु मदिरा भट्टीहरूमा प्रहरीले छापा मार्दै ठूलो मात्रामा तयारी मदिरा र कच्चा पदार्थ नष्ट गरेको छ । शुक्रवार बिहान भएको यस कारबाहीमा चार वटा भट्टी पूर्ण रूपमा नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र अमरपट्टी प्रहरी चौकीको संयुक्त टोलीले गाउँपालिकाको वडा नम्बर ४ अमरपट्टीस्थित भट्टीहरूलाई नष्ट गर्ने अपरेसन सञ्चालन गरेको थियो। प्रहरी नायब उपरीक्षक दीपक भारतीले अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत गरिएको यस कारबाहीमा ४५० लिटर तयारी रक्सी तथा ५ हजार ४०० लिटर कच्चा पदार्थ नष्ट गरिएको जानकारी दिएका छन् ।
प्रहरीका अनुसार, घरेलु मदिरा उत्पादन र वितरणमा संलग्नहरूविरुद्ध कानुनी कारबाही प्रक्रिया सुरु भइसकेको छ । अवैध मदिरा नियन्त्रणका लागि प्रहरीको अभियान निरन्तर जारी रहने बताइएको छ।
प्रहरीले अवैध रूपमा मदिरा उत्पादन र बिक्री गर्नेलाई कानुनको दायरामा ल्याउन थप दृढ कदम चाल्ने र यस्ता गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गरिने चेतावनी दिएको छ ।
विन्दवासिनी गाउँपालिकालगायत पर्सा जिल्लाका विभिन्न क्षेत्रहरूमा अवैध मदिरा विरुद्धको अभियानमा प्रहरीले सक्रियता बढाएको छ, स्थानीय समाजमा मदिरा दुर्व्यसन नियन्त्रणका लागि सुरक्षाकर्मीले थप निगरानी र छापामारीको कार्यलाई तीव्रता दिने योजना बनाएको जनाइएको छ ।