वीरगञ्ज । पर्सा जिल्लाको जिराभवानी गाउँपालिकामा चोरीका घटनाहरू दिनानुदिन बढिरहेका छन्। पछिल्लो तीन दिनमा मात्र सातवटा चोरीका घटनाहरू भएका छन्, जसले गाउँपालिकामा त्रासको वातावरण सिर्जना गरेको छ।
बिहीबार राति वडा नम्बर २ मा रहेको जिराभवानी मनी ट्रान्सफरमा चोरी भएको हो। चोरले मनी ट्रान्सफर कार्यालयको छाना फोडेर भित्र प्रवेश गरेका थिए। उक्त कार्यालयबाट एक थान ल्यापटप चोरी भएको र हाल घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, सेढवाले जानकारी दिएको छ।
यस्तै, बुधबार राति वडा नम्बर ३ को नौकाटोला चोकस्थित रामजानकी मन्दिरमा पनि चोरी भएको छ। चोरले मन्दिरको दान पेटिका फोडेर दान पेटिकामा रहेको रकम लगेका छन्। स्थानीय बासिन्दाका अनुसार, चोरहरूले मन्दिरसँगै रहेको तीनवटा घुम्ती पसलमा पनि चोरी गरेका छन्।
नौकाटोलामा विश्वनाथ राउत र जितेन्द्र दासले सञ्चालन गरेका घुम्ती पसलहरूको फ्लैक उखेलेर नगद, रिचार्ज कार्डलगायत अन्य सामग्रीहरू गरी करिब २४ हजार रुपैयाँ बराबरको चोरी भएको प्रहरीको भनाइ छ। त्यस्तै, ढोडा साह तुरहाको खाजा पसलमा पनि चोरहरूले चोरी गरेका छन्।
स्थानियहरूले जिराभवानी गाउँपालिकामा चोरीका घटनाहरू बढ्दै गएकाले सुरक्षाको व्यवस्था कडा बनाउन माग गरेका छन्।