×

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ मा प्रहरीले लागू औषधसहित मोटरसाइकल बरामद गरेको छ। शनिबार बेलुकी ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले वडा नम्बर ४ स्थित भलुवाही खोलाको बाँध नजिक चेकजाँच गर्ने क्रममा उक्त लागू औषध बरामद गरेको हो।

प्रहरीले चेकजाँचको क्रममा बीआर २२ बीए ९१५८ नम्बरको मोटरसाइकलबाट गाँजा ५ केजी र चरेस ५ केजी फेला पारेको छ। प्रहरी निरीक्षक मोहनजंग बुढा थापाका अनुसार, उक्त मोटरसाइकल सुगौलीबाट निचुटातर्फ जाँदै गरेको थियो।

प्रहरीले मोटरसाइकल रोकेपछि चालकले मोटरसाइकल र झोला त्यहीँ छाडेर भागेका थिए। झोलामा गाँजा र चरेस लुकाइएको भेटिएको थापाले जानकारी दिए।

बरामद मोटरसाइकल र लागू औषधलाई प्रहरी कार्यालयमा राखिएको छ भने, फरार चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Back to top