सर्लाही। सर्लाहीको बरहथवा नगरपालिका–७ मा निर्माणाधीन घरको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
आइतबार राजनारायण साहको निर्माणाधीन घरको पर्खाल भत्केर च्यापिँदा बसवरिया गाउँपालिका–३, बगलवाका १७ वर्षीय रविन माझीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक गौतम खड्काले जानकारी दिएका छन्।
प्रहरीका अनुसार घाइते माझीलाई बरहथवा बजारस्थित भेनस अस्पतालमा उपचारका लागि लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भयो। सोही घटनामा परेर बरबरिया गाउँपालिका–३, क्याम्प चौकका १९ वर्षीय विकास महतो घाइते भएका छन्। घाइते महतोलाई बरहथवास्थित ह्याप्पी अस्पतालमा उपचार भइरहेको छ।
उक्त घटना निर्माणकार्यको समयमा सुरक्षा मापदण्डको अभावका कारण भएको हुन सक्ने अनुमान गरिएको छ। स्थानीयले निर्माण क्षेत्रमा सुरक्षामा ध्यान दिनुपर्ने माग गरेका छन्।