वीरगञ्ज । म्यामोग्राफी मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वस्वास्थ्य सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ दिएको छ भने वीरगञ्जका सुरेन्द्रप्रसाद चौरसियासहित ६ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ।
सोमबार विशेष अदालतले सुनाएको फैसलाअनुसार डा. संगीता मिश्र, विवेक कुमार लाल, भुवन प्रसाद काफ्ले, दीपक अधिकारी, यादव प्रसाद देवकोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकालले आरोपबाट सफाइ पाएका छन्। स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा डा. मिश्र यस प्रकरणमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। तर, उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि हुन नसकेपछि अदालतले सफाइ दिएको हो।
यस्तै श्रवण कुमार थापा, वीरगञ्जका सुरेन्द्रप्रसाद चौरसिया, आशिष चौहान, पद्मा मिश्र, संजय कुमार साह तथा म्याक्सिम ट्रेडर्सका सञ्चालकलाई भने दोषी ठहर गरिएको छ। अदालतले बदनियतपूर्वक मिलेमतो गरी खरिद प्रक्रिया सञ्चालन गरेको ठहर गर्दै उनीहरूलाई जनही ४ महिना कैद सजाय सुनाएको छ।
फैसलाअनुसार दोषी ठहर भएका प्रतिवादीहरूबाट ५ लाख ४७ हजार ८ सय १७ रुपैयाँ बिगो असुल गरिने तथा जनही २० हजार रुपैयाँका दरले जरिवाना पनि गरिनेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा उक्त मुद्दा विशेष अदालतमा दायर गरेको थियो। अदालतको पछिल्लो फैसलासँगै मुद्दामा संलग्न प्रतिवादीहरूको कानुनी जिम्मेवारी र संलग्नताको विषयमा स्पष्ट निष्कर्ष आएको छ।