×

सर्लाही। सर्लाही प्रहरीले हातहतियार, गोली र नक्कली नेपाली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको मेजरगञ्ज थाना, बसविटा ग्रामपञ्चायत, रसुलपुर गाउँ निवासी २६ वर्षीय कुन्नु पटेल र ३० वर्षीय मुकेश पटेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायब निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउने सवारी साधन र पैदल यात्रीलाई चेकजाँच गर्दै आएको थियो। सो क्रममा भारतबाट सर्लाहीको मधुवनी गाउँतर्फ आउँदै गरेका दुबैलाई गोडैता नगरपालिका वडा नं. १२ स्थित चेकपोइन्टमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार, पक्राउ परेका दुवै व्यक्तिसँग फलामको घरेलु नलकटुवा पेस्तोल एक थान, केएमएफ ८ एमएम लेखिएको ६ राउन्ड गोली, केएफ ९ एमएम लेखिएको ४ राउन्ड गोली र नक्कली नोट बरामद गरिएको छ।

बरामद नक्कली नोटको विवरण अनुसार, प्रत्येक बन्डलमा रु. १ हजार दरका नक्कली नोट तल माथि राखिएको थियो भने बिचमा सेतो कागज राखी ठगी प्रयोजनका लागि तयार पारिएको १० बन्डलमा कुल २० थान नक्कली नोट पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान कार्य अघि बढाएको छ।

Back to top