×

वीरगञ्ज । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ सुपौलीस्थित सुपौली बजारमा रहेको कपडा पसलमा हिजो साँझ आगलागी भएको छ। स्थानिय दिलिप चौधरीले सञ्चालन गरेको उक्त पसलमा विद्युत सर्टसर्किटका कारण आगलागी भएको बताइएको छ।

ईलाका प्रहरी कार्यालय सेढ्वाका प्रहरी नायब निरीक्षक ध्रुव कुमार श्रेष्ठका अनुसार आगलागीबाट पसलमा रहेको अधिकांश कपडा जलेर नष्ट भएको छ, जसबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागी नियन्त्रण गर्न पोखरिया नगरपालिका र सखुवाप्रसौनी गाउँपालिकाबाट दुई वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा प्रयास गरिएको थियो। करीब एक घण्टाको मिहिनेतपछि आगो नियन्त्रणमा आएको प्रहरी नायब निरीक्षक श्रेष्ठले जानकारी दिए।

यस घटनाले स्थानीय व्यवसायीमा ठूलो आर्थिक क्षति भएको छ भने आगलागीको कारण सधैं सजग रहन स्थानीयलाई आग्रह गरिएको छ।

Back to top