हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ स्थित ब्रह्मस्थान पेट्रोल पम्प अगाडि पूर्व–पश्चिम सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ८ ख ३०२६ नम्बरको इँटा बोकेको ट्रक अनियन्त्रित भई पल्टिएपछि दुर्घटना भएको हो।
दुर्घटनामा सर्लाही हरिपुर नगरपालिका–१ पिडारीका २३ वर्षीय चालक अनिल कुमार महरा र बिष्णु गाउँपालिका–४ मधुवनका २२ वर्षीय सहचालक चन्दन कुमार चौधरी घाइते भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार, चालक महराको टाउको र शरीरका विभिन्न भागमा भित्री चोट लागेको छ भने सहचालक चौधरीको टाउको र शरीरका अन्य भागमा चोट लागेको छ।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि चुरेहिल अस्पताल भर्ना गरिएको छ, जहाँ उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ।