×

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका – २ थर्घट्टीमा बाघको आक्रमणबाट १० वटा बाख्राको ज्यान गएको छ ।

सोमबार दिउँसो पर्सा राष्ट्रिय निकुञ्जबाट आएको बाघले स्थानीय सत्यनारायण झाँगर र थमक महतो उराँउले चराउन लगेका बाख्राहरुमाथि आक्रमण गर्दा १० वटाको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोहनजंग बुढाथापाका अनुसार बाघले ८ वटा बाख्राको घाँटीमा टोकेर एकै चोटि ज्यान लिएको र थप दुई बाख्रालाई लिएर जङ्गलमा पसेको जानकारी दिएका छन् । बाघको आक्रमणमा कुनै पनि मानिस घाइते भएको छैन ।

पर्सा प्रहरीले डिभिजन वन कार्यालयको सहयोगमा बाघलाई भगाउन सफल भएको जनाएको छ । यस घटनापछि, वन कार्यालयले त्यहाँका स्थानीयलाई सावधानी अपनाउन अनुरोध गर्दै बाघको आक्रमणबाट बच्न घाँस दाउरा गर्न जाँदा र रातको समयमा बाहिर निस्कँदा सतर्क रहन आग्रह गरेको छ ।

स्थानीयहरूको सुरक्षाका लागि वन कार्यालयले कडा निगरानी राख्ने जनाएको छ र सबैलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।

Back to top