फाईल फोटो
वीरगञ्ज । पर्सा जिल्लाका विभिन्न पालिकामा इयरहेड कटिङ पिलर नामक कीराको प्रकोपले धानबालीमा ठूलो क्षति पु¥याएपछि मधेस प्रदेश सरकार अन्तर्गत कृषि मन्त्रालयले अनुगमन टोली खटाएको छ। टोलीले मङ्गलवार बहुदरमाई नगरपालिका क्षेत्रमा पुगेर प्रभावित किसानहरू र धानबालीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको छ।
गण्डक नहरको उत्तरतर्फका ठोरी, जीराभवानी, पटेर्वासुगौली, र पर्सागढी क्षेत्रहरूमा कीराको प्रकोप नरहेको देखिए पनि दक्षिणतर्फका बझियान क्षेत्रका पालिकाहरू—जस्तै बहुदरमाई, पोखरिया नगरपालिका, सखुवाप्रसौनी, विन्ध्यवासिनी, छिपहरमाई, धोबिनी, पकाहामैनपुर, र कालिकामाई गाउँपालिकामा भने कीराको असर गम्भीर रहेको कृषि ज्ञान केन्द्र, पर्साका प्रमुख कमलदेवप्रसाद कुशवाहाले बताए।
विज्ञहरूको टोलीले इयरहेड कटिङ पिलर कीरालाई फौजी कीराकै एक प्रजाति भएको पुष्टि गरेको छ। टोलीले धानबालीमा लागेको कीरा परीक्षण गर्न प्रभावित खेतहरूमा पुगेको थियो र किसानहरूसँग प्रत्यक्ष अन्तर्क्रिया पनि गरेको थियो।
प्रमुख कुशवाहाका अनुसार, यो कीरा दिनभरि धानको बोटमुनि लुकेर बस्छ र राति सक्रिय हुन्छ। यसले धानबालीका बोट र बाला दुवैलाई व्यापक रूपमा क्षति पु¥याउँछ। धेरै किसानहरू कीराको प्रकोपका कारण समयअगावै बाली काटेर भित्र्याउन बाध्य भएका छन्।
प्रकोप नियन्त्रणका लागि कीटनाशक औषधि खरिद प्रक्रिया शुरू भइसकेको छ। एक-दुई दिनभित्र किसानहरूको हातमा औषधि पुग्ने तयारी भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुशवाहाले जानकारी दिए। मन्त्रालयसँग समन्वय भइरहेको र चाँडै नै औषधि वितरण कार्य अघि बढ्ने आश्वासन पनि उनले दिएका छन्।
अनुगमन टोलीमा बाली संरक्षण प्रयोगशाला सिराहाका प्रमुख मोहन महतो, बाली संरक्षण अधिकृत उमेश थापा, र कृषि प्राविधिक लक्ष्मी अधिकारी सहभागी थिए। बिहीवार थप एकजना विज्ञ इयरहेड कटिङ पिलर कीराले पु¥याएको क्षतिको अध्ययन गर्न आउने तयारी रहेको कुशवाहाले बताए।
यस प्रकोपले पर्सा, बारा, र रौतहट जिल्लाका किसानहरूलाई चिन्तित बनाएको छ। कीटनाशक औषधि समयमै उपलब्ध गराएर समस्याको समाधान गरिने अपेक्षा गरिएको छ।