पर्सा । पटेर्वा सुगौली गाउँपालिकाको वडा नम्बर ४ स्थित श्री बनदेवी आधारभूत विद्यालय, भतौडामा इलाका प्रहरी कार्यालय पाटेर्वा सुगौलीको आयोजनामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रहरी निरीक्षक मोहनजंग बुढा थापा र प्रहरी सहायक निरीक्षक नितेश कुमार राउतले प्रशिक्षण दिएका थिए । प्रशिक्षणको मुख्य विषयवस्तु विश्व बाल दिवसको अवसरलाई लक्षित गरी बालबालिकाका अधिकार, हिंसाविरुद्धको संरक्षण, बालश्रम, बाल यातना, लागू औषध दुर्व्यसन, र बाल यौन दुव्र्यवहारसम्बन्धी सजायका कानुनी प्रावधानहरूमा केन्द्रित थियो।
प्रशिक्षणको क्रममा प्रशिक्षकहरूले बालबालिकाको सुरक्षाका उपाय र नेपालको संविधानले बालबालिकाका लागि प्रदान गरेका हक अधिकारबारे जानकारी गराए । साथै, बालबालिकामाथि हुने दुर्व्यवहार र त्यसका नकारात्मक प्रभाव रोक्न समुदायको भूमिका र सचेतनाबारे समेत चर्चा गरियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक, शिक्षक, छात्रछात्रा, सञ्चारकर्मी लगायतको उपस्थिति थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दासले सामुदायिक प्रहरी साझेदारीजस्ता कार्यक्रमले विद्यालय र समुदायलाई सचेत बनाउन महत्वपूर्ण योगदान गर्ने बताए ।
सामुदायिक सचेतनाका लागि यस्तो कार्यक्रम प्रभावकारी रहेको सहभागीहरूले प्रतिक्रिया व्यक्त गरेका छन्।