×

पर्सा। पर्सा जिल्लाको ग्रामीण भेगका किसान यस वर्ष धानबालीमा देखिएको किराको प्रकोपले चिन्तित भएका छन्। विशेषगरी सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ का किसान दिपक यादवका अनुसार, यस पटकको धानबाली गत वर्षको तुलनामा राम्रो देखिए पनि किराको प्रकोपका कारण ठूलो क्षति भएको छ।

किसानहरूले मुख्यतः सोना मन्सुली र बासमती धान खेती गरेका छन्। तर, धानमा किराले आक्रमण गर्दा बाली खेतमै झर्ने, टुक्रा-टुक्रा हुने र काटेर भण्डारण गरेपछि पनि नष्ट हुने अवस्था देखिएको छ। "धान काटेर घर भित्र्याउने समय आए पनि किराले बाली कोत्रिरहेकाले हामी अत्यन्तै अप्ठ्यारोमा परेका छौँ," किसान यादवले बताए।

किराको पहिचान र रोकथाममा पहल

सखुवा प्रसौनी गाउँपालिका कृषि शाखाका प्रमुख प्रीया साहले किराको पहिचान गर्न र रोकथामका उपाय लागू गर्न किसानहरूसँग समन्वय भइरहेको जानकारी दिइन्। "धानबालीमा किराले गरेको क्षतिका कारण किसानले ठूलो आर्थिक घाटा बेहोर्नु परिरहेको छ। किराको प्रकार पहिचान गर्न र त्यसअनुसार रोकथामका उपायका लागि हामी भोलिदेखि खेतमा पुग्नेछौँ," उनले भनिन्।

उनका अनुसार, धान भित्र्याउने समय भएकाले विषादी छर्ने प्रक्रिया तत्काल उपयुक्त नहुन सक्ने सम्भावना छ, किनभने यसले मानव स्वास्थ्यमा असर पुर्‍याउन सक्छ। त्यसैले किराको पहिचान र प्राकृतिक उपायहरूबारे किसानलाई जानकारी दिने तयारी भइरहेको उनले बताइन्।

समस्या समाधानको माग

किसानहरूले सरकार र सम्बन्धित निकायलाई शीघ्र कदम चालेर किराको प्रकोप नियन्त्रण गर्न आग्रह गरेका छन्। समयमै समस्या समाधान नभए किसानले ठूलो आर्थिक भार खेप्नुपर्ने र आगामी वर्ष धान उत्पादनमा गिरावट आउने सम्भावना रहेको उनीहरूले बताएका छन्।

Back to top