वीरगञ्ज। पर्साको वीरगञ्ज–पोखरिया सडकखण्डमा शनिबार भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने अर्का एक जना सामान्य घाइते भएका छन्।
वीरगञ्ज महानगरपालिका–१७ अलौंस्थित छगछिया भन्ने स्थानमा ना ८ ख २६११ नम्बरको टिपरले बिआर २२ बी.जी. १४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार जिराभवानी गाउँपालिका–५ सखुवनिया निवासी २५ वर्षीय प्रभु राउत थारुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी किशोर लम्सालले जानकारी दिएका छन्।
दुर्घटनामा परि सोही गाउँपालिकाका वडा नम्बर २ निवासी २० वर्षीय राकेश महतो सामान्य घाइते भएका छन्।
घटनापछि ठक्कर दिने टिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।