×

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाको भगवाननगरस्थित सिङ्गेडाँडा कैलाश पर्वतमा आराध्य देव पशुपतिनाथको प्राण–प्रतिष्ठा सम्पन्न भएको छ । वैदिक विधिअनुसार आयोजित विशेष पूजाआजासहित प्राण–प्रतिष्ठा सम्पन्न गरिएको हो ।

मङ्सिर १३ गतेदेखि सुरु भएको धार्मिक विधिलाई पूर्णता दिँदै आज शतबीज छर्ने कार्यक्रम आयोजना गरिएको थियो । प्राण–प्रतिष्ठाका यज्ञ आचार्य चिरञ्जीवी सापकोटाले विधिवत् रूपमा पूजाको सम्पादन गरिएको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले पशुपतिनाथ मन्दिरको स्थापनाले क्षेत्रीय विकास र धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । अध्यक्ष श्रेष्ठले भने, “पशुपतिनाथ मन्दिर स्थापना गर्नुले ठोरीलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा विकास गर्न मद्दत पुग्नेछ ।”

गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले धार्मिक पर्यटनको माध्यमबाट यस क्षेत्रको विकास हुने र आर्थिक गतिविधि बढ्नेमा विश्वास व्यक्त गरिन् । उनले भनिन्, “पशुपतिनाथको स्थापनासँगै ठोरीलाई धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा पहिचान दिलाउन सहयोग पुग्नेछ ।”

यसै गरी, वडा नम्बर १ का वडाध्यक्ष अमृतकृष्ण सापकोटाले ठोरीलाई धार्मिक नगरीका रूपमा विकास गर्न पशुपतिनाथ मन्दिरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

प्राण–प्रतिष्ठा समारोहमा ठोरीवासीको उत्साहजनक सहभागिता रहेको थियो । मङ्सिर १३ गतेको अवसरमा ठोरी गाउँपालिका–१ र २ मा सार्वजनिक बिदासमेत घोषणा गरिएको थियो ।

पशुपतिनाथको स्थापनाले ठोरी क्षेत्रको धार्मिक, सांस्कृतिक र आर्थिक विकासमा दीर्घकालीन प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

Back to top