सिराहा । पूर्व–पश्चिम राजमार्गको निर्माणमा भइरहेको ढिलासुस्तीप्रति असन्तोष व्यक्त गर्दै सिराहाको मिर्चैयास्थित स्थानीय र व्यापारीहरूले आन्दोलन गरेका छन् । मिर्चैया बजारका स्थानीय बासिन्दा र व्यापारीहरूले आज बिहान १० बजेबाट राजमार्ग अवरुद्ध गरेका हुन् ।
स्थानीय व्यापारीहरूका अनुसार राजमार्ग निर्माणको ढिलाइले सडकको अवस्था झन् बिग्रँदा यात्रा जोखिमपूर्ण बनेको छ । सडकमा समयमै पानी नछर्कने र धुलो नियन्त्रणका उपाय नअपनाउँदा स्थानीयवासीले स्वास्थ्य समस्याको सामना गर्नुपरेको छ ।
गत वर्ष माघ २२ मा पनि मिर्चैयाका स्थानीयले राजमार्ग निर्माण कार्यमा भइरहेको ढिलासुस्तीको विरोधमा आन्दोलन गरेका थिए । तर, कामले गति नलिँदा उनीहरूले पुनः आन्दोलन थाल्नुपरेको छ ।
आन्दोलनका कारण सयौँ सवारी साधन अलपत्र परेका छन् । स्थानीय प्रहरीले राजमार्ग खुलाउन प्रयास गरिरहेको छ भने सुरक्षाका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सिराहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटर चार लेन राजमार्ग निर्माणको जिम्मा चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपलाई दिइएको थियो । तर, उक्त समूहले समयमा निर्माण कार्य सम्पन्न गर्न नसक्दा पटक–पटक म्याद थप गरिए पनि कामले अपेक्षाकृत प्रगति गरेको छैन ।
स्थानीयवासीले निर्माण कम्पनीको लापरबाहीप्रति गुनासो गर्दै समयमै काम सम्पन्न गरी राजमार्गको अवस्था सुधार गर्न माग गरेका छन् ।
धुलो र खराब सडकको असरले यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । स्थानीय व्यापारी र बासिन्दाले समस्या समाधानका लागि निर्माण कार्यलाई तीव्रता दिन सरकार र सम्बन्धित निकायलाई दबाब दिनका लागि आन्दोलन सुरु गरेका हुन् ।
स्थानीयको भनाइ छ, “सडक निर्माणमा लापरबाही र ढिलासुस्तीले स्वास्थ्य र दैनिक जीवनमा ठुलो असर परेको छ । अब काम समयमा सम्पन्न गराउन ठोस कदम चाल्न आवश्यक छ ।”
सरकार र निर्माण कम्पनीले समस्या समाधानका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे पनि स्थानीय बासिन्दा र व्यापारीहरूको असन्तोष अझै कायमै छ ।