×

सर्लाही । मधेस प्रदेशका विभिन्न जिल्लामा छाडा कुकुर तथा वन्यजन्तुबाट टोकिने घटना बढ्दै जाँदा रेबिज भ्याक्सिनको चरम अभाव देखिएको छ। सरकारी अस्पतालहरूमा भ्याक्सिन नपाउँदा सर्वसाधारण महँगो शुल्क तिरेर निजी क्लिनिक जान बाध्य भएका छन्। विशेष गरी ग्रामीण भेगका सर्वसाधारण बढी मारमा परेका छन्।

छाडा कुकुरको संख्यामा वृद्धि, भ्याक्सिनको अभाव
मधेस प्रदेशका सर्लाही, पर्सा, बारा, रौतहट लगायतका जिल्लामा छाडा कुकुरको संख्या बढ्दै गएको छ। तर, रेबिज विरुद्धको खोपको आपूर्ति अत्यन्त सीमित हुँदा सर्वसाधारणलाई ठूलो समस्या परेको छ।

सर्लाही जिल्लाको बरहथवा नगरपालिका-१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई फागुन १ गते कुकुरले टोकेपछि नगर अस्पतालमा भ्याक्सिन पाइन। त्यसपछि उनले निजी क्लिनिकमा रु. ६५० तिरेर भ्याक्सिन लगाउन बाध्य भए। तीन मात्रा लगाउनुपर्ने भए पनि अस्पतालमा पटक–पटक अभाव देखिँदा दोस्रो मात्रा पनि निजी क्लिनिकमा लगाउनुपर्‍यो।

यस्तै, गोडैता नगरपालिका-५, सिसौटियाकी ४५ वर्षीया जोगनी देवीलाई फागुन ३ गते स्यालले टोकेपछि प्राथमिक स्वास्थ्य केन्द्र गोडैता पुर्याइयो। तर, भ्याक्सिन अभावका कारण चिकित्सकले १० दिनसम्म जनावरको निगरानी गर्न सुझाव दिए। जनावर भागेपछि उनी निजी क्लिनिकमा महँगो शुल्क तिरेर भ्याक्सिन लगाउन बाध्य भइन्।

स्थानीय बासिन्दा रामनरेश राय भन्छन्, “टोकेर भागेका जनावरलाई १० दिनसम्म कसरी निगरानी गर्ने? यस्तो अवस्थामा धेरै बिरामीले भ्याक्सिन पाएका छैनन्।”

सरकारी अस्पतालमा भ्याक्सिन अभाव, आपूर्ति अपुग
सर्लाहीका सरकारी स्वास्थ्य संस्थाहरूमा रेबिज भ्याक्सिन अभाव निरन्तर देखिँदै आएको छ। प्रादेशिक अस्पताल मलंगवा, बरहथवा नगर अस्पताल, ईश्वरपुर, लालबन्दी, हरिवन, बलरालगायतका अस्पतालहरूमा भ्याक्सिन पर्याप्त नपुग्ने समस्या रहेको छ।

प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. नवलकिशोर झाले भने, “हामीलाई महिनाको लागि ३०० भाइल भ्याक्सिन आवश्यक पर्छ, तर कहिलेकाहीँ १५ दिनलाई पनि नपुग्ने औषधि आउँछ। माग फारम पठाउँछौँ, तर भ्याक्सिन आइपुग्न १५-२० दिन लाग्छ।”

बरहथवा नगर अस्पताल प्रमुख नागेन्द्र साहका अनुसार, पहिले पर्याप्त कोटा आउँथ्यो, तर अहिले मधेस प्रदेश मातहतमा गएपछि महिनाको मात्र ६० भाइल प्राप्त हुन्छ, जुन एक हप्तामै सकिन्छ।

हरिवन नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीका अनुसार, गत माघमा ४० भाइल मात्र भ्याक्सिन आयो, जुन १० दिनमै सकियो। फागुन महिनाका लागि २० गते औषधि आउने तालिका छ, तर हाल बिरामीहरूलाई अन्यत्र जान सुझाव दिइरहेका छौँ।

निजी क्लिनिकमा महँगो शुल्क, विपन्न वर्गलाई थप समस्या
सरकारी अस्पतालमा रु. २०० मा उपलब्ध हुने भ्याक्सिन निजी क्लिनिकमा रु. ६५० सम्म पर्न थालेपछि विपन्न वर्गका लागि समस्या थपिएको छ। नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीका अनुसार, जिल्लामा महिनाको ६०० भाइल मात्र भ्याक्सिन आउँछ, तर आवश्यकताको एक तिहाइ मात्र हो।

मधेस प्रदेशका सरकारी अस्पतालहरूले रेबिज भ्याक्सिनको आपूर्ति सुधार्न सरकारसँग माग गरे पनि हालसम्म समाधान नआउँदा सर्वसाधारणले महँगो शुल्क तिरेर निजी क्लिनिक धाउन बाध्य भएका छन्।

Back to top