वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढीका युवा नेता बिकेश राय थारु पुनः आफ्नै राजनीतिक घर रास्वपामा फर्किएका छन् । आन्तरिक तथा साङ्गठनिक असमझदारीका कारण केही समय अन्य दलमा आबद्ध भएका थारु दर्जनौँ साथी तथा समर्थकसहित पुनः पार्टीमा आबद्ध भएका हुन् ।
रास्वपाको विचार, स्पष्ट सिद्धान्त र जनमुखी कार्यशैलीप्रति सधैँ आकर्षित रहेकाले आफू पुनः पार्टीमा फर्किएको थारुले बताएका छन् । गत स्थानीय तह निर्वाचनमा पर्सागढी नगरपालिका–१ बाट वडाध्यक्ष पदका उम्मेदवार बनेका थारु झिनो मतान्तरले दोस्रो स्थानमा सीमित भएका थिए । उनी रास्वपा पर्सागढीको प्रथम अधिवेशनदेखि नै सक्रिय रूपमा पार्टी गतिविधिमा संलग्न रहँदै आएका थिए ।
थारुको घरफिर्तीलाई स्वागत गर्न पर्सागढीमा आयोजित विशेष कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का सङ्घीय सांसद सुशील कुमार कानुले खादा तथा अबिर लगाएर उनलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कानुले सक्षम, ऊर्जाशील र जनतामाझ लोकप्रिय युवाहरू पार्टीमा फर्किनु रास्वपाका लागि सकारात्मक सङ्केत भएको बताए । उनले यस्ता युवाको सक्रियताले पर्सामा पार्टी सङ्गठन थप सशक्त बन्ने र आगामी निर्वाचनमा समेत सकारात्मक परिणाम हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
पर्सागढी नगर सभापति कविराज अर्यालको अध्यक्षतामा सम्पन्न स्वागत तथा घरफिर्ती कार्यक्रममा रास्वपाका युवा नेता सुधीर पटेल, बुद्धिराज अर्याल, जोखू मियाँ, नगर उपसभापति सुनिल रायभर, नगर सचिव सर्फू आलम अन्सारी, वडा सभापतिहरू मीनबहादुर भण्डारी, उमेश राउत, फिरोज मियाँ, रामलीला चौधरीलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।