×

वीरगञ्ज । नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीभित्र आन्तरिक सहमति कायम गर्ने उद्देश्यले निवर्तमान सभापति शेरबहादुर देउवा समूह र नेता डा. शेखर कोइराला समूहलाई जेठ १६ गते पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ ।

उपसभापति विश्वप्रकाश शर्माले सहमतिका लागि भन्दै पठाइएको उक्त प्रस्तावमा दुवै पक्षबाट औपचारिक जवाफ नआएपछि सार्वजनिक गरिएको जनाइएको छ । यसअघि आन्तरिक छलफलका लागि सीमित राखिएको प्रस्तावमा विशेष महाधिवेशनपछि उत्पन्न विवाद समाधान गर्दै १५औँ महाधिवेशनसम्म पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने विषय समेटिएको छ ।

प्रस्तावमा ‘विशेष महाधिवेशन पश्चात् उत्पन्न परिस्थिति र अबको बाटो’ शीर्षकअन्तर्गत सात बुँदा उल्लेख छन् । पहिलो बुँदामा विधानको धारा १७(२) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगको अद्यावधिक र सर्वोच्च अदालतको अन्तिम निर्णयलाई आत्मसात् गर्दै सबै विमति बिर्सेर एकताबद्ध भएर अघि बढ्न आग्रह गरिएको छ । साथै, विशेष महाधिवेशनको प्रक्रिया र परिणामप्रति रहेको असहमति १५औँ महाधिवेशनको बन्दसत्रमा मौखिक वा लिखित रूपमा राजनीतिक एजेन्डाका रूपमा प्रस्तुत गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । विशेष महाधिवेशनमा सहभागी भए/नभएको आधारमा कुनै सदस्यलाई फरक व्यवहार नगर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

दोस्रो बुँदामा महाधिवेशन तयारीको पहिलो चरणका रूपमा क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया निर्धारित समयभित्र सम्पन्न गर्ने उल्लेख छ । सदस्यतासम्बन्धी विधानमा रहेका अस्पष्टता हटाएर स्पष्ट व्यवस्थासहित अघि बढ्ने प्रस्ताव गरिएको छ ।

तेस्रो बुँदामा पार्टीमा लामो समय योगदान गरेका अग्रज नेताहरूमध्ये केहीलाई केन्द्रीय समितिमा ‘वरिष्ठ नेता’का रूपमा सम्मानित भूमिका दिने प्रस्ताव गरिएको छ । यद्यपि, कसैको नाम स्पष्ट उल्लेख गरिएको छैन ।

चौथो बुँदामा विगतमा केन्द्रीय समितिमा रहेका वा नरहेका मध्येबाट जिम्मेवारी निर्वाह गर्न इच्छुकलाई निश्चित सङ्ख्यामा केन्द्रीय समितिमा समेट्ने र कार्यसम्पादन समितिमा सम्मानजनक सहभागिता गराउने प्रस्ताव छ । तर केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने परम्परा अन्त्य गरी सबैले वडा तहबाट प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

पाँचौँ बुँदामा १५औँ महाधिवेशनका लागि गठन गरिने निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सम्मानजनक सहभागिता र सहकार्य सुनिश्चित गर्ने उल्लेख छ । छैटौँ बुँदामा केन्द्रीय समितिको अङ्गका रूपमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने विकल्प राखिएको छ ।

सातौँ बुँदामा भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको केन्द्रीय समितिमा कार्य गर्न इच्छुकलाई सभापति, पदाधिकारी वा योग्यता र चाहनाअनुसार जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता जनाइएको छ ।

संस्थापन पक्षले विभिन्न कालखण्डमा पार्टीभित्र फरक मत र विवाद देखिँदै आएको उल्लेख गर्दै भिन्न मत सुरक्षित राख्दै एकताबद्ध रूपमा अघि बढ्ने परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ । प्रस्तावमा “सबै सँगै बढौँ यसरी” भन्ने भावसहित सहमतिका आधारमा १५औँ महाधिवेशनसम्म पार्टीलाई सुदृढ र एकीकृत बनाउने उद्देश्य व्यक्त गरिएको छ ।

विशेष महाधिवेशन पश्चात् उत्पन्न परिस्थिति र अबको बाटोका सन्दर्भमा 

१) विधानको १७(२) बमोजिम सम्पन्न विशेष महाधिवेशन, निर्वाचन आयोगले गरेको अद्यावधिक अनि सम्मानित सर्वोच्च अदालतले अन्तिम छिनोफानो गरिसकेको यथार्थ आत्मसात् गर्दै विमतिका सबै विषय बिर्सिएर एकताबद्ध भएर अघि बढ्ने l

* तर विशेष अधिवेशनको प्रक्रिया र परिणाम उपरको विमतिलाई आफ्नो राजनैतिक एजेन्डाका रूपमा १५ औँ महाधिवेशनको बन्दसत्रमा मौखिक / लिखित दुवै रूपमा प्रस्तुत गर्न सकिने l

* विशेष महाधिवेशनमा सहभागी रहेको या नरहेको आधारमा पार्टीका कुनैपन सदस्यलाई फरक कोणबाट नहेर्ने, फरक व्यवहार नगर्ने l

२) महाधिवेशन तयारी क्रमको पहिलो चरण क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रियालाई निर्धारित समयभित्र पूरा गर्ने l (पार्टी विधानमा विगतदेखिनै रहेको यस सम्बन्धी व्यवस्थाबारे रहेका अस्पष्टतालाई स्पष्ट गरेर अघि बढ्ने)

३) पार्टीमा लामो समय योगदान गर्नुभएका अग्रज नेताहरू मध्येबाट केही अग्रजलाई केन्द्रीय समितिमा वरिष्ठ नेताका रूपमा सम्मानित भूमिकामा स्थापित गर्ने l 

४) विगतमा केन्द्रीय समितिमा रहेका र नरहेका साथीहरू मध्येबाट जिम्मेवारी निर्वाह गर्न इच्छुक साथीहरूलाई केन्द्रीय समितिमा निश्चित सङ्ख्यामा सम्मानपूर्वक जिम्मेवारी प्रदान गर्ने l कार्यसम्पादन समितिमा सम्मानजनक सहभागिता रहने l (तर महाधिवेशनमा स्वतः भाग लिन पाइने परम्परा अन्त्य गरी, केन्द्रीय समितिमा रहेका सबैले वडा तहबाट नै प्रतिनिधि बनेर अनिवार्य आउनुपर्ने) 

५) पन्ध्रौँ महाधिवेशन गराउने निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सम्मानजनक सहभागिता र सहकार्य गर्ने l 

६) केन्द्रीय समितिको अङ्ग रहने गरी बैठकबाट १५ औँ महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने l

७) भ्रातृ र शुभेच्छुक संस्थाहरूको केन्द्रीय समितिमा कार्य गर्न इच्छुक साथीहरूलाई सभापति नै अथवा पदाधिकारी या उहाँहरूको चाहना र योग्यता अनुरूपको जिम्मेवारी प्रदान गर्ने l

Back to top