वीरगञ्ज । नेकपा (एमाले) मधेश प्रदेश कमिटीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूका लागि बजेट निर्माण, कार्यान्वयन र विकास योजनाको प्रभावकारी व्यवस्थापनसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलका अनुसार हालसम्म भएका कामहरूको समीक्षा गर्दै आगामी आर्थिक वर्षको बजेटलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको हो।
कार्यक्रममा एमाले केन्द्रीय स्थानीय विकास विभाग प्रमुख राजेन्द्र गौतम तथा विज्ञहरू गणेश तिमल्सिना र नवराज गेलालले स्थानीय तहको योजना तर्जुमा, बजेट व्यवस्थापन र विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयनका विषयमा सहजीकरण गरेका थिए।
प्रशिक्षणलाई सम्बोधन गर्दै राजेन्द्र गौतमले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर बजेट निर्माण गर्न आग्रह गरे। उनले बजेटलाई नागरिकको जीवनस्तरसँग प्रत्यक्ष रूपमा जोडिने गरी योजनाबद्ध ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी एमाले मधेश प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठले स्थानीय पार्टी कमिटीसँग समन्वय र सहकार्य गर्दै बजेट निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिए। विकास कार्यक्रमलाई जनमुखी, पारदर्शी र परिणाममुखी बनाउन पार्टी र जनप्रतिनिधिबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव मनोज पौडेलले सहजीकरण गरेका थिए भने उपाध्यक्ष बिचारी यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू अच्युत मैनाली, प्रभु हजरा, मो. कैस, मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री सारदा थापालगायत पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार यस्ता प्रशिक्षण कार्यक्रमले स्थानीय तहमा प्रभावकारी बजेट व्यवस्थापन, सुशासन प्रवर्द्धन तथा जनउत्तरदायी विकास कार्यक्रम सञ्चालनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।