×

वीरगञ्ज । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले शनिबार काठमाडौँमा ‘नेपाल प्राइड परेड’ आयोजना गर्दै गौरव यात्रा निकालेका छन्।

शनिबार शान्ति बाटिकाबाट सुरु भएको प्राइड परेड विभिन्न सडक हुँदै खुल्ला मञ्च पुगेर सम्पन्न भएको थियो। परेडमा सहभागीहरूले विविधता, समानता, समावेशिता र मानवअधिकारको सम्मानका पक्षमा विभिन्न सन्देशसहित र्‍याली प्रदर्शन गरेका थिए।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले हरेक वर्ष जुन महिनामा विश्वभर ‘प्राइड मन्थ’ अन्तर्गत गौरव यात्रा तथा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गर्ने परम्परा रहेको छ। यस अवसरमा समुदायका सदस्यहरूले आफ्नो पहिचान, अधिकार र सामाजिक स्वीकार्यताका विषयलाई सार्वजनिक रूपमा उठाउँदै आएका छन्।

प्राइड परेडको इतिहास सन् १९६९ को जुन महिनामा अमेरिकाको न्यूयोर्कस्थित स्टोनवाल क्षेत्रमा भएको आन्दोलन (स्टोनवाल दङ्गा) सँग जोडिएको मानिन्छ। त्यस घटनापछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार र समानताको पक्षमा विश्वभर ‘प्राइड परेड’ मनाउने अभ्यास विस्तार हुँदै आएको छ।

नेपालमा पनि पछिल्ला वर्षहरूमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचान, अधिकार र सम्मानको सुनिश्चितताका लागि नियमित रूपमा प्राइड परेड तथा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएका छन्।

Back to top