वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले पछिल्लो समय मुलुकको राजनीतिक शक्ति विचारशून्य बन्दै गएको टिप्पणी गरेका छन्। उनले विचार, सिद्धान्त र नैतिकताभन्दा ‘सेलेब्रिटी संस्कृति’ र विध्वंसप्रतिको आकर्षण बढ्दै जानु लोकतन्त्रका लागि चिन्ताजनक भएको बताएका छन्।
शनिबार काठमाडौंमा नयाँ शक्तिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष राउतले वर्तमान राजनीतिक अवस्थालाई ‘विचारशून्य युग’को संज्ञा दिँदै सामाजिक सञ्जालमा बढ्दो गालीगलौज र तर्कहीन बहसले लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर बनाइरहेको धारणा व्यक्त गरे।
उनले संसदीय व्यवस्था र लोकतान्त्रिक अभ्यासप्रति सम्मान घट्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री संसद्मा उपस्थित भएर जनप्रतिनिधिहरूको प्रश्नको जवाफ दिनुपर्ने संवैधानिक तथा नैतिक दायित्वलाई समेत अनावश्यक ठान्ने प्रवृत्ति बढ्नु दुःखद रहेको बताए।
अध्यक्ष राउतले पछिल्लो समय राज्यले अवलम्बन गरेको ‘डोजर संस्कृति’को समेत आलोचना गर्दै पुरानो पुस्ताका नेताहरूले जेलनेल र सङ्घर्षपूर्ण राजनीतिक यात्राबाट मुलुकको सेवा गरे पनि नयाँ पुस्ताले त्यसको उचित मूल्याङ्कन गर्न नसकेको टिप्पणी गरे।
उनले भने, “आज वैचारिक शून्यता भएको शक्ति जन्मिएको छ। हामी चौबीसै घण्टा जनताको सेवामा उपलब्ध हुन्छौँ, तर आजभोलि टाढैबाट हात हल्लाउने र जनतासँग नभेट्ने प्रवृत्तिप्रति आकर्षण बढेको छ। यो डार्क साइकोलोजी र एल्गोरिदमको खेल हो, जसमा हामीजस्ता भुईँतहमा काम गर्ने नेताहरू चुकेका छौँ।”
आफूहरू प्रविधि र नयाँ जमानाको सञ्चार शैलीलाई समयमै आत्मसात गर्न नसक्दा पछाडि परेको स्वीकार गर्दै उनले अब नयाँ पुस्ताको चाहनाअनुसार राजनीतिक शैली र कार्यपद्धतिमा परिवर्तन आवश्यक रहेको बताए।
विचार र सिद्धान्तविहीन राजनीतिले मुलुकलाई सही दिशामा लैजान नसक्ने उल्लेख गर्दै अध्यक्ष राउतले राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै लोकतान्त्रिक मूल्य, नैतिकता र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।