×

काठमाडौं । गीत–सङ्गीतको दुनियाँमा आफूलाई स्थापित गर्न लागेका कलाकार भुवन के पोखरेल अभिनित आधुनिक गीत ‘मेरै हातको सिन्दुर’ सार्वजनिक भएको छ। स्वरगायक विनोद दनुवार र गायिका सुनिता तिमल्सिनाको आवाज रहेको यो गीतको शब्द तथा सङ्गीत सन्तोष श्रेष्ठले तयार गरेका हुन्।

गीतको म्युजिक भिडियो विनोद दनुवार अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित विमोचन कार्यक्रममा जसपा केन्द्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री मिर्गेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा गीत सार्वजनिक गरियो। चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा भिडियोलाई औपचारिक रूपमा प्रस्तुत गरिएको थियो।

सुरेश थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल र लक्ष्मी सुनारको अभिनय देख्न सकिन्छ। भिडियोलाई प्रवेश पोखरेलले छायाङ्कन गरेका छन्। कार्यक्रमका सभापति सुरज खनाल रहेका थिए भने भिडियोमा अभिनय गर्ने कलाकारहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

यस म्युजिक भिडियोमा दिवाकर भण्डारी, सपना कार्की, विक्रम ठाकुरले समेत अभिनय गरेका छन्। गीत निकै मार्मिक रहेको दाबी गर्दै मोडल भुवन के पोखरेलले ‘मेरै हातको सिन्दुर’ गीतले अहिलेका युवाहरूको भावना अभिव्यक्त गर्ने विश्वास व्यक्त गरेका छन्।

भुवन के पोखरेल पछिल्लो समय चर्चित टेलिसिरियल ‘सहरीया बुहारी’ मा अभिनय गर्दै आएका कलाकार हुन्। उनले अहिलेसम्म तीन दर्जनभन्दा बढी म्युजिक भिडियो तथा विभिन्न लोकप्रिय टेलिसिरियलहरूमा काम गरिसकेका छन्। गीतको प्रतिक्रिया बारे सोधिएको प्रश्नमा पोखरेलले यो गीत दर्शक–श्रोताले मन पराउने विश्वास व्यक्त गर्दै दर्शकहरूको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताए।

Back to top