वीरगञ्ज । वीरगञ्जस्थित आइसिपी कार्यालयमा आयोजित “सातौँ भन्सार सुधार तथा आधुनिकीकरण रणनीतिक कार्ययोजना (CRMP)” सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले भन्सार सेवालाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउन आवश्यक सुधारका विषयमा जोड दिएका छन्।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानीले भन्सार सेवालाई केवल वस्तु जाँचपासमा सीमित नराखी यात्रु आवागमन (प्यासेन्जर मुभमेन्ट) लाई समेत सहज र व्यवस्थित बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए। उनले हालसम्म यात्रु व्यवस्थापन र सहजीकरणको पक्ष अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको उल्लेख गरे।
टेमानीले व्यवसायीका समस्या समाधानका लागि द्रुत र प्रभावकारी संयन्त्र आवश्यक रहेको बताउँदै भने, “व्यवसायीका समस्या सुन्ने र त्यसको शीघ्र समाधान गर्ने प्रणाली विकास नभएसम्म व्यापार सहजीकरणको लक्ष्य पूरा हुन सक्दैन।”
उनले देशका विभिन्न सीमा नाकामा अझै पनि साना भन्सार कार्यालयको अभाव रहेको उल्लेख गर्दै त्यस्ता स्थानमा ‘मोबाइल भन्सार सेवा’ सञ्चालन गर्न सुझाव दिए। भन्सार सेवा प्रदान गर्ने सवारीसाधनमै इन्टरनेट सुविधा राखी आवश्यक भन्सार प्रक्रिया तत्कालै सम्पन्न गर्न सकिने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
अन्तरक्रिया कार्यक्रममा भन्सार सुधारको विकासक्रम, सातौँ CRMP को आवश्यकता, योजना तर्जुमा प्रक्रिया, रणनीतिक संरचना, रूपान्तरणका क्षेत्र, कार्यान्वयन तथा अनुगमन प्रणाली र लागत अनुमानलगायत विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल नम्बर १३ गणका गणपति मोहन क्षेत्री, भन्सारका डीएसपी विकास अधिकारी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, पूर्व अध्यक्ष तथा उद्योगपति अशोक वैद्यलगायत सरकारी निकाय, निजी क्षेत्र, भन्सार एजेन्ट तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले भन्सार प्रशासनलाई आधुनिक प्रविधिमैत्री, व्यवसायमैत्री तथा सेवाग्राहीमुखी बनाउँदै व्यापार सहजीकरण, राजस्व संकलन र सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सातौँ भन्सार सुधार योजनाको सफल कार्यान्वयन अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्।