×

वीरगञ्ज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आफूले विगत एक दशकभन्दा बढी समयदेखि अघि बढाउँदै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताएका छन्।

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले मुलुकमा वैकल्पिक राजनीतिको आवश्यकता महसुस गर्दै आफूले ११ वर्षअघि नयाँ शक्ति अभियान सुरु गरेको स्मरण गरे। उनले रास्वपाको उदयलाई त्यस अभियानको सकारात्मक परिणामका रूपमा व्याख्या गरे।

“मैले गत ११ वर्षदेखि नयाँ शक्ति अभियानमार्फत वैकल्पिक राजनीतिको पैरवी गर्दै आएको छु,” भट्टराईले भने, “आज रास्वपालाई म त्यो अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा ग्रहण गर्छु।”

उनले आफ्नो यस्तो अभिव्यक्तिपछि विभिन्न किसिमका टिप्पणी र आलोचना हुने गरेको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि समेत व्यक्त गरे। आफूले कुनै व्यक्तिगत लाभ वा पदको अपेक्षाले नभई मुलुकको राजनीतिक रूपान्तरणको उद्देश्यले रास्वपाप्रति सकारात्मक धारणा राखेको उनको भनाइ थियो।

“केही मानिसहरूले अब यसले के पाउन लाग्यो, के ललिपप देखाइदियो भनेर टिप्पणी गर्छन्,” उनले भने, “मैले जीवनभर संघर्ष गरेको मान्छे, प्रधानमन्त्री भइसकेको व्यक्ति, यो उमेरमा आएर कुनै ललिपप खान खोजेको होइन। मेरो उद्देश्य देशमा सकारात्मक परिवर्तन देख्नु हो।”

भट्टराईले मुलुकको राजनीतिक प्रणालीमा सुधार, सुशासन र वैकल्पिक नेतृत्वको आवश्यकता अझै कायम रहेको उल्लेख गर्दै नयाँ पुस्ताका राजनीतिक शक्तिहरूले जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने धारणा व्यक्त गरे।

रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, बुद्धिजीवी तथा शुभेच्छुकहरूको सहभागिता रहेको छ। महाधिवेशनलाई नयाँ राजनीतिक शक्तिको भविष्य र संगठनात्मक दिशासँग जोडेर चासोका साथ हेरिएको छ।

Back to top