×

वीरगञ्ज । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छोटो समयमै हासिल गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय रहेको बताएका छन्।

चितवनमा सुरु हुन लागेको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गर्दै भट्टराईले पार्टीलाई विचार, संगठन, नीति र नेतृत्वका आधारमा थप सुदृढ र स्थिर बनाउने जिम्मेवारी महाधिवेशनसामु रहेको बताएका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, “स्थापनाको छोटो समयमै रास्वपाले प्राप्त गरेको चुनावी सफलता प्रशंसनीय र अनुकरणीय छ। जोश र उत्साहको जगमा, निराशा र विकल्पको खोजीमा रहेको जनमतलाई आकर्षित गरेर फैलिएको यस पार्टीलाई विचार, संगठन, नीति र नेतृत्वमार्फत सुदृढ एवं स्थिर बनाउने मुख्य कार्यभार यो महाधिवेशनसामु रहेको छ।”

भट्टराईले लोकतन्त्र, संविधान, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता तथा बहुलवादी समाज नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएको उल्लेख गरेका छन्। उनले यी लोकतान्त्रिक मूल्य र मान्यताहरूको संरक्षण तथा सुदृढीकरण सबै राजनीतिक दलहरूको साझा दायित्व भएको बताएका छन्।

उनले संसद्को सबैभन्दा ठूलो दल तथा सरकार सञ्चालनको नेतृत्व गरिरहेको राजनीतिक शक्तिबाट समेत लोकतान्त्रिक मूल्य, संविधान र विधिको शासनप्रति उच्च सम्मान तथा दृढ प्रतिबद्धता अपेक्षित रहेको धारणा व्यक्त गरेका छन्।

रास्वपाको प्रथम महाधिवेशनले पार्टीको भावी दिशा, नेतृत्व चयन तथा संगठनात्मक सुदृढीकरणका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

Back to top