×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका लागि चितवनमा निर्माण गरिएका स्वागत गेटका कारण अवरुद्ध भएका पाँच वटा भारतीय ट्रकलाई गेट हटाएर गन्तव्यतर्फ पठाइएको छ।

शनिबार दिउँसो करिब २ बजे पूर्वी चितवनको टिकौली जंगल क्षेत्र आइपुगेका ती ट्रकहरू स्वागत गेटको उचाइभन्दा अग्ला भएकाले बाटो पार गर्न नसकी निपनी क्षेत्रमा रातभर रोकिएका थिए।

प्राप्त जानकारीअनुसार सुरुमा ट्रकहरूलाई तीन दिनसम्म सोही स्थानमा रोक्नुपर्ने अवस्था आउन सक्ने बताइएको थियो। तर पछि स्वयंसेवक तथा प्रहरीको समन्वयमा स्वागत गेट अस्थायी रूपमा हटाएर ट्रकहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको हो।

ट्रकहरू पार गराएपछि स्वागत गेटहरू पुनः यथास्थानमा राखिएको जनाइएको छ।

ट्रक चालकहरूका अनुसार ती सवारी साधनहरूले कुरिनटारस्थित बाह्रसिङ्गे बियर उद्योगका लागि आवश्यक सामग्री बोकेर आएका थिए। स्वागत गेटका कारण बाटो अवरुद्ध भएपछि उनीहरू रातभर सडक किनारमा रोकिन बाध्य भएका थिए।

रास्वपाको प्रथम महाधिवेशनलाई लक्षित गर्दै भरतपुरका विभिन्न स्थानमा प्रतिनिधि तथा सहभागीहरूको स्वागतका लागि आकर्षक गेटहरू निर्माण गरिएको छ। तर ती गेटहरूको उचाइभन्दा अग्ला मालवाहक ट्रकहरू आवतजावत गर्दा समस्या उत्पन्न भएको हो।

स्थानीय प्रशासन र आयोजक पक्षको समन्वयपछि समस्या समाधान गरिएको र अहिले यातायात सञ्चालन सामान्य अवस्थामा रहेको जनाइएको छ।

Back to top