वीरगञ्ज । आज विश्वका विभिन्न स्थानमा अन्तर्राष्ट्रिय अयनोत्सव दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । वर्षमा दुई पटक हुने खगोलीय घटनामध्ये एक अयनोत्सवका अवसरमा सांस्कृतिक, शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय महासभाले अयनोत्सव तथा विषुवलाई मानव सभ्यता, कृषि परम्परा र सांस्कृतिक सम्पदासँग जोडिएको महत्त्वपूर्ण प्राकृतिक तथा सांस्कृतिक घटनाका रूपमा मान्यता दिँदै प्रत्येक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय अयनोत्सव दिवसका रूपमा मनाउने घोषणा गरेको हो ।
राष्ट्रसङ्घका अनुसार संस्कृति समाज वा सामाजिक समूहका विशिष्ट आध्यात्मिक, भौतिक, बौद्धिक तथा भावनात्मक विशेषताहरूको समष्टि हो । यसले कला, साहित्य, जीवनशैली, मूल्य–मान्यता, परम्परा र विश्वासलाई समेट्छ । सांस्कृतिक विविधता मानवताको साझा सम्पत्ति भएकाले यसको संरक्षण, सम्मान र प्रवर्द्धन वर्तमान तथा भावी पुस्ताका लागि आवश्यक रहेको राष्ट्रसङ्घको भनाइ छ ।
महासभाले अयनोत्सव र विषुवलाई भूमि उर्वरता, कृषि प्रणाली, खाद्य उत्पादन तथा हजारौँ वर्ष पुराना सांस्कृतिक परम्पराको प्रतीकका रूपमा स्वीकार गरेको छ । यस्ता पर्वले आपसी सम्मान, शान्ति र असल छिमेकी सम्बन्ध प्रवर्द्धन गर्दै विभिन्न समुदाय र राष्ट्रबिचको सम्बन्ध सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
खगोलशास्त्रीय रूपमा अयनोत्सव भनेको सूर्यको वार्षिक दृश्यगत मार्ग पृथ्वीको भूमध्यरेखाको तुलनामा सबैभन्दा उत्तर वा दक्षिण बिन्दुमा पुग्ने क्षण हो । जुन २१ तिर पर्ने ग्रीष्म अयनान्त उत्तरी गोलाद्र्धमा वर्षको सबैभन्दा लामो दिन र गर्मी यामको सुरुआतका रूपमा चिनिन्छ । त्यसैगरी, डिसेम्बर २१ तिर पर्ने शिशिर अयनान्त वर्षकै सबैभन्दा छोटो दिन र जाडो यामको सुरुआतको सङ्केत मानिन्छ ।
वर्षमा दुई पटक पर्ने विषुव सामान्यतः मार्च २० र सेप्टेम्बर २३ तिर हुन्छ । यस समयमा दिन र रातको अवधि लगभग बराबर हुने भएकाले यसलाई ऋतु परिवर्तनको महत्त्वपूर्ण सङ्केतका रूपमा लिइन्छ ।
अयनोत्सव, विषुव तथा तिनसँग सम्बन्धित ऋतुचक्र कृषि, बाली भित्र्याउने समय र जनजीवनसँग घनिष्ठ रूपमा जोडिएका छन् । यही कारण विश्वका विभिन्न संस्कृति र सभ्यताले यिनलाई विशेष पर्व, उत्सव तथा धार्मिक–सांस्कृतिक परम्परामार्फत मनाउँदै आएका छन् ।
राष्ट्रसङ्घले यस्ता परम्पराले मानव समुदायबिच समझदारी, सहिष्णुता र सांस्कृतिक संवाद अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।