एआइको सहयोगबाट तयार पारिएको सांकेतिक तस्बिर ।
वीरगञ्ज । स्थानीय सामाजिक संस्था वीरगंज युवा समाजले आर्थिक अभावका कारण विवाह सम्पन्न गर्न कठिनाइ भोगिरहेको एक विपन्न परिवारकी छोरीको विवाहका लागि संकलन गरिएको रु. २२ हजार १० रुपैयाँ सहयोगस्वरूप हस्तान्तरण गरेको छ।
शनिबार संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू पीडित परिवारको घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन्। संस्थाका अनुसार आगामी असार ८ गते बाराको जितपुरस्थित प्रसिद्ध गढीमाई मन्दिरमा विवाह सम्पन्न हुने तयारी भइरहेका बेला परिवारको कमजोर आर्थिक अवस्थाबारे जानकारी पाएपछि सहयोग अभियान सञ्चालन गरिएको हो।
वीरगंज युवा समाजले उक्त रकम संस्थाभित्रै गरिएको आन्तरिक संकलनबाट जुटाइएको जनाएको छ। संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विवाह सफलतापूर्वक सम्पन्न होस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको बताएको छ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष संजीव थापाले आर्थिक अभावका कारण कुनै पनि छोरीको विवाह रोकिन नहुने उल्लेख गर्दै समाजप्रति आफ्नो दायित्वबोधका साथ सहयोग गरिएको बताए।
उनले भने, “आर्थिक अभावका कारण कसैको छोरीको विवाह रोकिनु हुँदैन। सामाजिक दायित्व बुझेर हामीले यो सानो सहयोग गरेका हौं। हाम्रो एउटा सानो प्रयासले एउटा परिवारमा खुसी आउँछ र विवाह सु-सम्पन्न हुन सक्छ भने हामी सधैं यस्ता कार्यमा अगाडि रहनेछौं।”
अध्यक्ष थापाले सहयोग संकलन अभियानमा स्वेच्छिक रूपमा साथ दिने सबै सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय तथा परोपकारी कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
रकम हस्तान्तरण कार्यक्रममा वीरगंज युवा समाजका अध्यक्ष संजीव थापा, सचिव विनोद धिमाल, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह तथा सदस्यहरू सुशील सिंह, राजु गुप्ता, कमलेश सर्राफ र पुष्पराज कोइराला लगायतको उपस्थिति रहेको थियो।
संस्थाले आगामी दिनमा पनि आर्थिक तथा सामाजिक रूपमा समस्यामा परेका परिवारहरूको सहयोगमा सक्रिय रहने जनाएको छ।