वीरगञ्ज । पर्साको ग्रामीण क्षेत्रमा भइरहेको काठ तस्करीसम्बन्धी भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा सार्वजनिक भएपछि सुरक्षा निकाय र वन कार्यालयको संयुक्त टोलीले छापा मारेर ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ।
प्रहरी चौकी मिलनचोक, नेपाल सुरक्षा बेस क्याम्प सोलखपुर तथा सबैया वन डिभिजन कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका–३२ परसावा क्षेत्रमा छापा मारेको हो।
छापाका क्रममा त्रिपालले छोपेर राखिएको अवस्थामा सालका गोलिया तथा फर्निचर निर्माण प्रयोजनका लागि तयार पारिएका काठ बरामद गरिएको जिल्ला वन कार्यालय वीरगञ्जले जनाएको छ।
वन कार्यालयका अनुसार सामाजिक सञ्जालमा काठ तस्करीसम्बन्धी भिडियो सार्वजनिक भएपछि घटनाको सत्यतथ्य बुझ्न संयुक्त अनुगमन तथा खोजतलास अभियान सञ्चालन गरिएको थियो। सोही क्रममा परसावास्थित एक स्थानमा लुकाइछिपाइ राखिएको काठ फेला परेको हो।
बरामद गरिएको काठ हाल सबैया वन डिभिजन कार्यालयको नियन्त्रणमा राखिएको छ। काठको स्रोत, तस्करीमा संलग्न व्यक्ति तथा काठ राखिएको घर र गोठका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला वन कार्यालयले जनाएको छ।
वन कार्यालयका अधिकारीहरूका अनुसार अनुसन्धानपछि संलग्न व्यक्ति पहिचान भएमा प्रचलित वन ऐनअनुसार आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ।
वन क्षेत्रको संरक्षण तथा अवैध काठ ओसारपसार नियन्त्रणका लागि अनुगमनलाई थप कडाइ गरिने सम्बन्धित निकायले जनाएको छ।