×

काठमाडौं । आज देशका पाँच प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसोपछि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ भने लुम्बिनी तथा अन्य पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

कर्णालीका केही स्थान र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा बिहानै मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको छ। दिउँसो पनि ती क्षेत्रमा यस्तै मौसम रहने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हावाहुरी, मेघगर्जन र चट्याङ्गको सम्भावना रहेका स्थानहरूमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

Back to top