×

वीरगञ्ज । नयाँ वर्ष २०८१ को अवसरमा वीरगञ्जमा आयोजना हुन लागेको “न्यु इयर इभ कन्सर्ट” भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको छ ।

ब्लेन्डिङ इभेन्ट्स नेपालले परिवर्तन इभेन्ट हाउसको सहकार्यमा आयोजना गर्न लागेको कार्यक्रम चैत ३१ गते वीरगञ्जस्थित होटेल भिस्वामा आयोजना हुनेछ।

कार्यक्रममा चर्चित गायक दीपक बज्राचार्य एन्ड “रिदम ब्यान्ड” पहिलो पटक वीरगञ्जमा प्रस्तुति दिने छ । त्यस्तै थारु गायिका अनु चौधरी, मैथिली र्‍यापर मनिया, काठमाडौँकी चर्चित डिजे नाना तथा वीरगञ्जका स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति हुनेछ ।

चार हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको कार्यक्रममा विद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ ।

कार्यक्रमको कुल अनुमानित लागत ३८ लाख ४० हजार रुपैयाँ रहेको आयोजकहरूको दाबी छ । कार्यक्रमको मुख्य प्रायोजकको रूपमा प्लेटिनम, सिल्भर, तथा सपोर्टेड बाइका अवसरहरू खुला रहेको आयोजकहरूले जनाएका छन् ।

कार्यक्रमलाई प्रायोजन गर्नेहरूलाई विशेष फाइदा पाउने आयोजकको दाबी छ । जस्तै मञ्च तथा एलइडी स्क्रिनमा ब्रान्ड प्रदर्शनी हुने छ भने, समाचार संस्थादेखि होर्डिङ बोर्ड र डिजिटल मिडिया मार्फत विज्ञापन हुनेछ । त्यस्तै सञ्चालकले पटक – पटक ब्रान्ड उद्घोषणा पनि गर्ने छन् भने टिकट, निमन्त्रणा पत्र, ब्यानर, पोस्टर लगायतका प्रचार सामग्रीमा समेत प्रायोजकको लोगो समावेश गरिने छ । प्रायोजकहरूलाई विशेष स्टल पनि उपलब्ध गराइने आयोजकले जनाएका छन् ।

कार्यक्रममा सहभागी हुन् विद्यार्थीले विशेष छुटमा पाँच सय रुपैयाँमा टिकेट खरिद गर्न सक्छन् भने सर्वसाधारणले एक हजार रुपैयाँ तिरेर टिकेट खरिद गर्न सक्छन् । त्यस्तै प्रिमियम टिकटको मूल्य २५ सय रुपैयाँ रहेको छ । टिकटहरू “खल्ती” अनलाइन वालेट मार्फत खरिद गर्न सकिनेछ साथै वीरगञ्जका विभिन्न स्थानहरूमा केही दिनभित्रै टिकट काउन्टरहरूको व्यवस्था गरिनेछ ।

वीरगञ्जलाई सांस्कृतिक हबका रूपमा प्रवर्द्धन गर्नुका साथै कार्यक्रमको माध्यमबाट सांस्कृतिक एकता, पर्यटन प्रवर्द्धन तथा वीरगञ्जलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य रहेको छ ।

ब्लेन्डिङ इभेन्ट्स नेपालले सम्पूर्ण दर्शक, मिडिया तथा प्रायोजकहरूलाई सहभागी हुन आग्रह गर्दै, कार्यक्रमलाई सफल बनाउन सबैको साथ र समर्थनको अपेक्षा गरेको छ ।

Back to top