वीरगञ्ज । “हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन“ भन्ने नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला तदर्थ समिति पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा ठोरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अष्ट बहादुर लोप्चन, प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण प्रसाद गौतम, मधेश प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मा, प्रतिष्ठानका सचिव बिनोद ढुंगेल, बारा अध्यक्ष देवेन्द्र कार्की, प्रदेश प्रतिनिधि विकास पाण्डे लगायतले शुभकामना मन्तव्य राख्दै नेपाली लोकसंस्कृति, विशेषगरी मधेश क्षेत्रका लोकबाजा र परम्परागत गीतहरूको प्रवद्र्धन आवश्यक रहेकोमा जोड दिएका थिए ।
मधेश क्षेत्रका लोकगीत, बाजागाजा, भाका तथा परम्परागत सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै समृद्ध बनाउनुपर्ने वक्ताहरुको धारणा थियो । वडा अध्यक्ष अष्ट बहादुर लोप्चनले स्थानीय कलाकारहरूको प्रतिभा उजागर गर्ने कार्यमा प्रतिष्ठानको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।
प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण प्रसाद गौतमले नेपाली लोकगीत तथा संस्कृतिको प्रवद्र्धनमा प्रतिष्ठानको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । मधेश प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्माले मधेशको भाषा, संस्कृति र बाजागाजाको संरक्षण प्रतिष्ठानको प्रमुख उद्देश्य रहेको उल्लेख गरे ।
प्रदेश प्रतिनिधि विकास पाण्डेले लोक गीत, नृत्य र संगीत प्रवद्र्धनका लागि प्रतिष्ठानको सक्रियता अझै बढाउनु पर्नेमा जोड दिनुभयो । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । जित बहादुर पाख्रिनको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसंवत रुपमा चयन भएको हो ।
समितिको प्रथम उपाध्यक्षमा युवराज केशरी, महिला उपाध्यक्षमा गङ्गा तामाङ, सचिवमा विजय कुमार ठाकुर, सहसचिवमा सूर्यनारायण वि.क., कोषाध्यक्षमा बालेश्वर राय र सदस्यहरूमा आकाश कुमार पटेल, रिना देवी यादव र अनिता राम चयन हुनुभएको छ । साथै, सल्लाहकार समितिमा अशोक प्रधान, ध्रुवसिंह ठकुरी र अष्ट बहादुर लोप्चनलाई चयन गरिएको छ ।