वीरगञ्ज । द्वन्द्वकालीन यौन हिंसा पीडित महिलाको कथा उजागर गर्ने उद्देश्यले तयार गरिएको वृत्तचित्र ‘देवी’ को विशेष प्रदर्शनी वीरगञ्जमा सम्पन्न भएको छ। आदर्शनगरस्थित क्युएफएक्स सिनेमा हलमा सामुदायिक संस्था सानो पाइला र चलचित्र पत्रकार संघ नेपाल, पर्साको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
सुबिना श्रेष्ठ निर्देशित वृत्तचित्र देवी खड्काको जीवनकथामा आधारित छ। पूर्वलडाकु तथा यौन हिंसा पीडित देवीले न्यायको खोजीमा गरेको संघर्ष वृत्तचित्रको मूल विषय हो।
कार्यक्रममा प्रदेशसभा सदस्य रहबर अंसारी, महिला अधिकारकर्मी डा. सुष्मा तिवारी द्विवेदी, उद्यमी गुड्डी जोशी, जेसीज अध्यक्ष सरोज चौरसिया, लगायत वक्ताहरूले वृत्तचित्रले मौनतामा रहेका पीडाहरूलाई उजागर गरेको बताए।
चलचित्र पत्रकार संघ पर्साका अध्यक्ष सूर्यनारायण वि.क. ले वृत्तचित्रले समाजलाई यथार्थसँग जुध्न प्रेरित गरेको बताए। कार्यक्रममा प्रहरी, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, स्थानीय तहका जनप्रतिनिधिहरू र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।