तस्बिर: शंकर आचार्य ।
पर्सा । पर्सा जिल्लाका किसानहरू लामो समयको प्रतीक्षापछि वर्षाको स्वाद चाख्न पाउँदा उत्साहित भएका छन्। गण्डक नहरदेखि उत्तर थरूहट क्षेत्र र दक्षिण बजियान क्षेत्रका किसानहरूको अनुहार, गए रातिदेखि परेको सिमसिमे पानीले हँसिलो बनाएको छ।
थरूहट क्षेत्रअन्तर्गत सखुवाप्रसौनी, पटेर्वासुगौली, जगरनाथपुर, जीराभवानी, पर्सागढी नगरपालिका तथा वीरगञ्ज महानगरपालिकाका वडाहरू २९ देखि ३२ सम्मका किसानहरूले समयमै रोपाइँ गरेका थिए। यी क्षेत्रमा गण्डक नहर, बोरिङ र कुलो प्रणालीमार्फत वैकल्पिक सिंचाइ सुविधा उपलब्ध भएका कारण ८० प्रतिशत किसानले २५ दिनअघि धान रोपिसकेका छन् र अहिले मल छर्ने कार्यमा छन्। २० प्रतिशत किसान अझै पनि आकाशे पानीको भरमा छन्।
यसैगरी बजियान क्षेत्रअन्तर्गत वीरगञ्ज महानगर, विन्ध्यावासिनी, धोबिनी, कालिकामाई, पकाहामैनपुर, छिपहरमाई, पोखरिया र बहुदरमाई नगरपालिका समेत गरी १४ वटा स्थानीय तहका किसानहरू आकाशे पानीकै भरमा धान खेती गर्दै आएका छन्। यहाँ ८० प्रतिशत किसान अझै पनि वर्षामा निर्भर छन्, जबकि गण्डक नहरको सिंचाइ पहुँच १५ प्रतिशत र बोरिङमार्फत सिंचाइ ५ प्रतिशतमा सीमित छ।
बजियान क्षेत्रमा असार सुरु भएदेखि पर्याप्त वर्षा नहुँदा रोपिएको धान घामको तापले जलिरहेको थियो र जमिनमा चिरा परेको थियो। यस्तो अवस्थामा गएरातिदेखि परेको सिमसिमे वर्षाले जमीन भिजेर मलिलो बनेको र धानबालीलाई क्षति हुनबाट जोगाएको किसानहरूको विश्वास छ।
पर्सागढी नगरपालिका–३ का किसान नन्दलाल चौधरीका अनुसार, "अहिलेसम्मको खडेरीले धानका बोटहरू सुक्न थालेका थिए, जमीन चिराचिरा परेको थियो र कीरा रोगको डर बढेको थियो। रातिदेखिको पानीले युरिया मल छर्ने समयमै भिजाइ भएको छ, यसले बालीलाई वरदान मिलेको छ।"
त्यस्तै, अर्का किसान हरि महतोले वर्षा नपर्दा बाली मात्र होइन, मानिसहरू पनि अत्यधिक गर्मीबाट हैरान भएका थिए। “रातिदेखि परेको पानीले बाली र मानव दुवैलाई राहत दिएको छ”, उनले भने।
जिल्लाभर करिब ९५ प्रतिशत धान रोपाइँ भइसकेको र बाँकी पाँच प्रतिशत बजियान क्षेत्रको रहेको कृषि स्रोतहरूले जनाएका छन्। हालको वर्षाले बाँकी रोपाइँ सम्पन्न गर्न र रोपिएको बालीलाई बचाउन सहयोग पुग्ने अनुमान गरिएको छ।
यो वर्ष धान उत्पादनमा पर्सा जिल्लाको स्थिति मधेस प्रदेशका अन्य जिल्लाहरूको तुलनामा अझै सन्तोषजनक देखिएको छ। सिमसिमे भए पनि निरन्तर वर्षाले जमीन भिजाउने र धानको बोटमा हरियाली ल्याउने कार्यमा ठूलो टेवा पुर्याउने आशा गरिएको छ।