×

वीरगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ का लागि नवीकरण भएका शैक्षिक कन्सल्टेन्सीहरूको नामावली सार्वजनिक गरेको छ ।

मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले मङ्गलवार जारी गरेको सूचनामा विदेश अध्ययनका लागि सेवा लिन चाहने सेवाग्राहीहरूलाई सूचीमा समावेश संस्थाहरूबाट मात्र सेवा लिन अनुरोध गरेको छ ।

शाखा प्रमुख तथा उपसचिव सेमन्तराज कोइरालाद्वारा जारी सूचनामा भनिएको छ, “आ.व. २०८१/८२ का लागि संस्था नवीकरण गर्न प्रकाशित सूचनाबमोजिम देहायका शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा, तयारी कक्षा, ब्रिज कोर्स सञ्चालन तथा भाषा परीक्षण गर्न अनुमति प्राप्त संस्थाहरूको सूची प्रकाशन गरिएको छ ।” मन्त्रालयले सेवाग्राहीहरूलाई यही सूचीमा रहेका संस्थाहरूबाट मात्र सेवा लिन आग्रह गरेको छ ।

सार्वजनिक विवरणअनुसार कुल ७ सय २० शैक्षिक कन्सल्टेन्सीहरूले नवीकरण प्राप्त गरेका छन् । सूचीमा कुनै संस्थाको विवरण फरक परेको खण्डमा, सम्बन्धित संस्थालाई नवीकरण पत्रको प्रतिलिपिसहित सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखामा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

सूचनाले विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई प्रमाणित र विश्वसनीय संस्थामार्फत सेवा लिन सहज बनाउने अपेक्षा गरिएको छ ।

(सूची हेर्न यहाँ क्लिक गर्नुहोला ।)

Back to top