नयाँ दिल्ली । बलिउड सुपरस्टार आमिर खान आफ्नो पछिल्लो फिल्म ‘सितारे जमिन पर’ को युट्युब सफलताबाट निकै खुसी छन् । आफ्नो फिल्मले थिएटरमा भन्दा युट्युबमा धेरै कमाई गरेको उनले बताए ।
यसै बिचमा उनले आफ्नो ड्रिम फिल्म स्कुलको बारेमा समेत कुरा गरेका छन् । अभिनेता छिटै यो स्कुल खोल्न चाहन्छन् । उनको यो योजनालाई बलिउडका अर्का सुपरस्टार ऋतिक रोशनले पनि समर्थन गरेका छन् ।
बलिउडमा आमिर खान मिस्टर परफेक्शनिस्टको रूपमा चिनिन्छन् । आफ्नो फिल्ममा स्क्रिप्ट होस् वा सङ्गीत हरेक कुरा आमिरले पर्फेक्टका साथ गर्न मन पराउँछन् रे पनि भनिन्छ । आफूले एउटा फिल्म स्कुल खोल्न चाहेको हालै गेम चेन्जर्ससँगको कुराकानीमा आमिरले भनेका थिए ।
अन्तरवार्तामा अभिनेताले फिल्म मेकिङभन्दा हटेर कयौँ फरक फरक कुराहरूमा ध्यान केन्द्रित गर्न चाहने बताए । ‘मलाई फिल्म स्कुल खोल्ने निकै धेरै इच्छा छ । तर म एकदमै फरक खालको स्कुल खोल्नेछु’ आमिरले भने ।
‘वास्तविकतामा भन्नु पर्दा फिल्म निर्माणमा सम्पादन, छायाङ्कन जस्ता फरक फरक कुराहरू हुन्छन् । यी सबै तपाईंले ३ देखि ६ महिनामा सिक्नुहुनेछ । तर मलाई लाग्छ कि जब तपाईं बच्चाहरूलाई तालिम दिनुहुन्छ, तिनीहरूले आधारभूत कुराहरू बुझ्नु निकै जरुरी छ । यदि मैले फिल्म स्कुल सुरु गरेँ भने, बच्चाहरूले पछि फिल्म निर्माण सिक्नेछन्, पहिले तिनीहरूले मनोविज्ञान, समाजशास्त्र, इतिहास, पौराणिक कथा, सङ्गीत र कला बुझ्नेछन्’ आमिरले भने ।
फिल्म निर्माण सबै कुराको मिश्रण हो भन्छन् आमिर । कसैले एउटा कुरा मात्रै बुझेको छैन भने पनि फिल्म निर्माणमा एक पक्षको पकड कमजोर हुनेछ । कहानीलाई पर्दामा राम्रोसँग उतार्न पनि विद्यार्थीले नृत्य, अभिनय, लेखन जस्ता कयौँ आर्टफम्स बुझ्नु आवश्यक छ ।
‘एक जना मान्छेमा जति धेरै आर्टफम्सको पकड र बुझाई हुन्छ, उसको काम त्यति नै राम्रो हुनेछ । त्यसैले म मेरो फिल्म स्कुलमा सबै आर्टफम्समा सिकाउन चाहन्छु । त्यसपछि २–३ महिनामा फिल्म निर्माण सिकिनेछ । विद्यालयको भवनमा यो काम गर्न सकिन्न ।’ उनले भने । फिल्महरू सुटिङ हुने ठाउँ सडक, घर वा चाल आदि जस्ता ठाउँमा आफूले विद्यार्थीलाई पढाउने पनि उनले बताए ।
आफूले कुनै स्कुल सुरु गरेँ भने यो गुरुकुल शैलीको हुने आमिरले बताए । फिल्म स्कुलमा सकेसम्म कम विद्यार्थीलाई भर्ना लिने अनि तिनीहरूलाई आफ्नो साथमा फिल्म सेटमा लैजाने कुरा पनि उनले गरेका छन् । आमिरको कुरासँग ऋतिक पनि सहमत देखिएका छन् ।
उनले इन्स्टाग्राममा अभिनेताको पोस्ट पनि सेयर र लाइक गरेका छन् । ऋतिकका फ्यानहरूले पनि आमिरको कुरा रुचाएका छन् । आमिर र ऋतिकको कामको बारेमा कुरा गर्दा आमिर हाल राजकुमार हिरानीसँग दादा साहेब फाल्केको बायोपिकमा काम गरिरहेका छन् । ऋतिक क्रिश ४ को तयारीमा व्यस्त छन् ।