जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको आधिकारिक फेसबुक पेज शनिबार साँझ ह्याक भएको छ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार पेज ह्याक भएको करिब साढे चार घण्टापछि आइटी विज्ञहरूको सहयोगमा पुनः नियन्त्रणमा ल्याइएको हो।
सचिवालयमार्फत सञ्चालित ‘CM Satish Singh’ नामक आधिकारिक पेज ह्याक भएको पुष्टि गर्दै रिकभर भएपछि सोही पेजमार्फत एक स्टाटस लेख्दै सूचना जारी गरिएको छ।
सूचनामा भनिएको छ, “माननीय मुख्यमन्त्री सिंहज्यूको सचिवालयमार्फत सञ्चालित CM Satish Singh आधिकारिक फेसबुक पेज हिजो साँझ ह्याकरहरूले ह्याक गरेकोमा सचिवालयका साथीहरू र आइटी विज्ञहरूको अथक प्रयासमा साढे चार घण्टापछि सफलतापूर्वक रिकभर गरिएको छ।”
सचिवालयले ह्याकिङलाई राजनीतिक षड्यन्त्रको रूपमा लिँदै मुख्यमन्त्रीलाई कमजोर पार्ने प्रयास गरिएको टिप्पणी गरेको छ।
सूचनामा थप उल्लेख छ, “यसले हाम्रो हौसला घटाएको छैन, बरु अझ सशक्त भएर अघि बढ्ने प्रेरणा मिलेको छ।”