×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निलम्बन भएको एक साताभित्रै लामो समयदेखि रोकिएको कर्मचारीहरूको तलब निकासा प्रक्रिया सुरु भएको छ। कार्यबाहक नगरप्रमुख इम्तियाज आलमको पहलमा वीरगञ्ज महानगरका कर्मचारीले पाए रोकिएको तलब नगरप्रमुखको जिम्मेवारी सम्हालेका उपप्रमुख इम्तियाज आलमको पहलमा पहिलो चरणमा सयौं कर्मचारीको खातामा तलब रकम पठाइएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाका अनुसार पहिलो चरणमा ४६७ जना कर्मचारीलाई तलबबापत ५ करोड ५५ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम निकासा गरिएको छ।

लेखा अधिकृत रुपनारायण राउतका अनुसार ५९ जना निजामती कर्मचारी, १४२ जना स्थायी सेवा कर्मचारी तथा १३३ जना सरसफाइ कर्मचारीलाई तीन महिनाको तलब भुक्तानी गरिएको छ। त्यसैगरी १२० जना करार सेवाका कर्मचारी र १३ जना करारका सवारी चालकलाई चार महिनाको तलब निकासा गरिएको छ।

राउतले बाँकी ६८४ जना कर्मचारीको खातामा पनि आज–भोलिभित्र तलब रकम जम्मा गरिने जानकारी दिए। उनका अनुसार पाँच महिनादेखि तलब नपाएका कर्मचारीलाई चार महिनाको तथा चार महिनादेखि तलब रोकिएकाहरूलाई तीन महिनाको तलब उपलब्ध गराउने तयारी भइरहेको छ।

महानगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूको चार महिनादेखि र करार सेवाका कर्मचारीहरूको पाँच महिनादेखि तलब रोकिएको थियो। पहिलो चरणमा स्थायी कर्मचारीलाई तीन महिनाको र करार कर्मचारीलाई चार महिनाको तलब भुक्तानी गरिएको हो।

महानगरपालिकाले मासिक रूपमा १ हजार १५१ जना कर्मचारीको तलबमा करिब ३ करोड ७६ लाख रुपैयाँ खर्च गर्दै आएको जनाएको छ।

यता, महानगर क्षेत्रको सरसफाइ तथा फोहर व्यवस्थापनको जिम्मेवारी पाएको निजी साझेदार एनके इन्टरनेशनल प्रालिको पनि पाँच महिनादेखिको भुक्तानी बाँकी रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार महानगरपालिकाले तत्काल सम्पूर्ण रकम भुक्तानी गर्न नसक्ने अवस्था रहेकाले दुईदेखि तीन महिनाको बक्यौता रकम तत्काल निकासा गर्न निमित्त नगरप्रमुख आलमले निर्देशन दिएका छन्।

यसैबीच, केही स्रोतहरूले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग सम्बन्धित प्रशासनिक तथा व्यवस्थापकीय विवादका कारण कर्मचारीहरूको तलब वितरणमा ढिलाइ भएको दाबी गरेका छन्। यद्यपि यस विषयमा सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया सार्वजनिक हुन बाँकी छ।

रोकिएको तलब निकासा प्रक्रिया सुरु भएपछि लामो समयदेखि पारिश्रमिकको प्रतीक्षामा रहेका कर्मचारीहरूमा राहतको अनुभूति भएको बताइएको छ।

Back to top